मतदातालाई धन्यवाद दिँदै गगनले भने– देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिन सक्छ, अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु
फरकधार / ६ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदातालाई सम्बोधन गर्दै उनले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताएका हुन् । 



मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै उनले मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुने प्रतिनिधिसभाका सदस्यलाई आग्रह गरे । उनले भने, ‘खासगरी नेपाली कांग्रेसको तर्फबाट देशलाई हाँक्नको निम्ति नयाँ नेतृत्वको खोजी भएको कुरालाई समेत मनन गर्दै सबै साथीहरु नयाँ जोशका साथमा र नयाँ चिन्तनका साथमा संसदभित्र आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’



जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताउँदै उनले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्ने बताए । त्यसको लागि पार्टीभित्र छलफल सशक्त भइसकेको उनको भनाइ छ । प्रतिनिधिसभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको उल्लेख गरे । 



नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै जनतालाई विश्वस्त बनाउने उनको भनाइ छ । निर्वाचनबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने उनले विश्वास व्यक्त गरे । 



नयाँ सरकारले आमजनतालाई दिनप्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने बताउँदै थापाले निर्वाचन परिणाम हेर्दा मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेको उल्लेख गरे । निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्ने संकल्प गरेको उनले बताए । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १५:२०:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया