संसदमा देखिँदै छन् कांग्रेसका भरोसायोग्य तीन अनुहार

नेपाली कांग्रेसभित्र प्रभावशाली युवा नेताको रूपमा रहेकामध्येका तीन अनुहार हुन्– गगन थापा, प्रदीप पाैडेल र विश्वप्रकाश शर्मा । विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारको राजनीतिमा आएका यी तीनै जना देशलाई नै नेतृत्व गर्ने ठाउँ संसदमा पुग्ने निश्चित छ । 

गगन, प्रदीप र विश्वप्रकाश यी तिनै जनाले कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा लामो समय काम गरे । विद्यार्थी संगठनमा रहँदा सहकर्मीको रूपमा काम गरिसकेका यी तिनै जना पुनः एक ठाउँमा आइपुगेका छन् ।  

विगतमा विद्यार्थी संगठनमा रहेका बेला उत्तिकै चर्चा र चासो बोकेका युवा नेता एकसाथ संसदमा पुग्दै छन् । त्यसैले पनि कांग्रेसबाट संसदमा पुग्ने मध्य भरोसा योग्य रूपमा यी तीन अनुहारलाई लिन सकिन्छ । थापा र पौडेलले जित निकाली सकेका छन् भने शर्मा भारी मतले अगाडि छन् । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा यी तिनै जना महामन्त्रीको दौडमा थिए । तर, गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित हुँदा प्रदीप पराजित हुँदा मनोनीत भएर पार्टीको केन्द्रीय सदस्यमा सीमित भए । अब प्रतिनिधिसभामा भने उनीहरू एकसाथ हुने भएका छन् ।

गगन थापा

काठमाडौं–४ बाट पुनः गगन थापा विजयी भएर संसद फर्किएका हुन् । २१ हजार ३०२ मत ल्याइ विजयी हुँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मतमा रोकिए ।



संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित भएका थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं ४ बाट नै निर्वाचित भएका थापा पुनः २०७९ मा पनि सोही क्षेत्रबाट संसदको यात्रालाई निरन्तरता दिन सफल भएका हुन् ।

२०७३ मा स्वास्थ्यमन्त्रीसमेत बनेका थापाले विद्यार्थी संगठनमा पनि लामो काम गरे । २०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सहभागिता जनाएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । पछि २०५३  मा त्रिचन्द्रमा स्ववियु सचिव भएका थापा २०५५ मा सभापति निर्वाचित भएका थिए । 



त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री र २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । पार्टीको १३औँ महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४औँ महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए । स्नातकोत्तरसम्म अध्ययन गरेका थापा राजनीतिक आन्दोलनका क्रममा २०५९ सालदेखि ०६३ सम्म पटक–पटक हिरासतमा पनि पुगेका थिए । 

प्रदीप पौडेल

कांग्रेसका युवा नेता मध्यका एक चर्चित अनुहार प्रदीप पौडेल पनि संसदमा पुगेका छन् । काठमाडौं क्षेत्र नं ५ बाट उनी विजयी भएका हुन्। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित  गर्दै संसदको यात्रा तय गरेका हुन् । प्रदीपले १५ हजार २३७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी पोखरेलले जम्मा १० हजार १७५ मत ल्याएर पराजित भए । 

एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा रहेका एमालेका हेभिवेट नेता पोखरेललाई पराजित गर्दै कांग्रेस नेता पौडेलले आफ्नो उचाइ झनै बढाएका छन् ।

तनहुँमा जन्मिएका प्रदीप पौडेलको विद्यार्थी जीवन र राजनीतिक यात्रा काठमाडौंबाटै अघि बढ्यो । आफ्नो स्नातकोत्तर तह सम्मको अध्ययनको सिलसिलासँगै विद्यार्थी आन्दोलनबाटै राजनीतिमा आइपुगेका हुन् पौडेल । 

२०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए ।  २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक समेत उनैले गरेका थिए । विद्यार्थीको हकहितको लागि उनी अहोरात्र खटिए । 

लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध रहेका पौडेल एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर गरिब तथा जेहनदार विद्यार्थीको लागिसमेत उनले काम गरेका छन् । 

२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौँ महाधिवेशनमा महासचिवको प्रत्याशी बनेर हार बेहोरेका थिए । उनी २०७० सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा सदस्यमा ६ मतले मात्रै पराजित भएका थिए ।

विश्वप्रकाश शर्मा

झापाबाट पटकपटक संसदको यात्रा तय गरे पनि असफल रहेका विश्वप्रकाश यस पटक भने संसद पुग्ने निश्चित जस्तै छ । विश्वप्रकाशले यो समाचार तयार पार्दासम्म ३२ हजार ३५० मतसहित अग्रता कायम राखेका छन् भने एमालेका अग्निप्रसाद खरेलले २० हजार ३५० मतसहित पछ्याइरहेका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ६ हजार ३०२ मत पाएका छन् । अन्य सबै उम्मेदवारहरूले १ हजार ७८१ मत पाएका छन् । मतगणना जारी छ । झापा १ मा जम्मा मतदाता सङ्ख्या १ लाख २० हजार ३७५ रहे पनि ८७ हजार ३९६ मत मात्रै खसेको छ ।

२०४१ सालमा नेविसंघको विद्यालय इकाइ समितिका सभापति बनेका शर्मा २०४३/०४५ मा मेची क्याम्पस इकाइ सभापतिको रूपमा निर्वाचित भए । स्कुल, क्याम्पसको सफल कार्यकाल सम्हालेका उनी नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय सभापति बन्न सफल भए । त्यस्तै पार्टीमा अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मा हालै सम्पन्न महाधिवेशनबाट अत्यधिक मतका साथ महामन्त्रीमा विजयी भए । २०७५ मा पार्टीको प्रवक्तासमेत बनेका शर्मा प्रस्ट वक्ताका रूपमा पनि चिनिन्छन् । 

यसअघि विद्यार्थी राजनीति र पार्टीमा सफल रहेपछि संसदसम्म पुग्न भने शर्माले सहज भएन । २०७० सालमा नेकपा एमालेका रविन कोइरालासँग जम्मा ६ सय मतले हारेका शर्मा २०७४ मा  नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित हुन पुगे । कांग्रेस महामन्त्री शर्मा तेस्रो पटक झापा–१ बाट प्रतिनिधिसभा सदस्यको लागि मैदान उत्रिएका शर्माले संसद प्रवेश गर्ने निश्चित प्रायः छ । 

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया