जर्मनीविरुद्ध जापानको जित कतार विश्वकपमा एसियाली राष्ट्रको उदयको संकेत

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज सम्पन्न समूह ‘ई’को खेलमा एसियाली पावर हाउस जापानले उपाधि दाबेदार मानिएको जर्मनीलाई २–१ ले पारजित गरेको छ । 

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा चारपटकको विजेतालाई जापानले स्तब्ध पार्ला भनेर कमैले मात्र सोचेका थिए । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगनले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यसलाई जोगाउन नसक्दा ऊ स्तब्ध बन्न पुग्यो । 

पहिलो हाफको थप गरिएको समयमा काइ हाभर्ट्जले गोल गरे पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन । पहिलो हाफमा केही फिलतो देखिएको जापानले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गर्दै अप्रत्यासित जित निकाल्यो । ७५औं मिनेटममा रित्सु दोआनले जापानलाई १–१ को बराबरीमा ल्याए । ८३औं मिनेटमा ताकुमा असानोले गरेको गोल निर्णायक बन्दा जापानले २–१ को रोमाञ्चक जित निकाल्यो । 

जापानले पहिलोपटक जर्मनीलाई पराजित गरेको हो । सुरुवाती अग्रताका बाबजुत जर्मनी पराजित भएको यो सन् १९७८ पछि पहिलोपटक हो । त्यतिबेला ऊ अस्ट्रियासँग ३–२ ले पराजित भएको थियो । 

खेलमा दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा हाबी देखिएको जर्मनीले दोस्रो हाफमा भने केही खस्किएको प्रदर्शन गरेको थियो । 

जापानको जित एसियाली राष्ट्र कमजोर छैनन् भन्ने सन्देश 



विश्व फुटबलमा युरोप र दक्षिण अमेरिकी क्षेत्रका बाहेक अन्य टोलीलाई कमजोर सोचिन्छ, खास गरी एसियाली राष्ट्रलाई । उपाधि दाबेदारमाथि जापानको यो जितले एसियाली राष्ट्र पनि कमजोर छैनन् भन्ने सन्देश दिएको छ । 

मंगलबार सम्पन्न खेलमा पनि उपाधि दाबेदार मानिएको दुईपटकको विजेता अर्जेन्टिनालाई साउदी अरेबियाले पराजित गरेको थियो । ​बलिया प्रतिस्र्धीविरुद्ध यी दुई राष्ट्रको जितलाई फिफा विश्वकप २०२२ मा एसियाली राष्ट्रको उदयको रुपमा दिन सकिन्छ ।



हुन त समूह चरणका अझै दुई खेल बाँकी रहेकाले यी राष्ट्रले कहाँसम्मको यात्रा तय गर्नसक्छन् भन्ने यकिन गर्न सकिँदैन। तर, एउटा कुरा भने निश्चित छ कि बलिया टोलीविरुद्धको यो जितले अर्को खेलमा उनीहरुको आत्मबल बढ्नेछ भने विपक्षीले उनीहरुलाई कमजोर सम्झने भुल गर्ने छैनन् । 

जर्मनीलाई पुरानै चिन्ता

जापानसँगको हारले पक्कै जर्मनीलाई पुरानै चिन्ताले सताएको छ । र त्यो हो कतै २०१८ मा जस्तै समूह चरणबाटै बाहिरिने त होइन ?

रुसमा भएको त्यो विश्वकपमा पनि साबिक विजेता जर्मनी तुलनात्मक रुपमा कमजोर ठानिएका मेक्सिकोसँग १–० ले दक्षिण कोरियासँग २–० ले पारजित हुदै समूह चरणबाटै बाहिरिएको थियो ।
 
यो विश्वकपमा भने जर्मनीलाई सहज छैन किनकि उसले अब स्पेन र कोस्टारिका जस्ता बलिया टोलीको सामना गनुपर्नेछ । 

जर्मनीलाई लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरिने खतराबाट बच्न दुवै खेलमा जित्नै पर्ने दाबाब सिर्जना भएको छ । 

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २२:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया