काठमाडौं उपत्यकाबाट निर्वाचित यी १५ जना : कसले कसलाई हराए, जित्नेको पृष्ठभूमि कस्तो ?

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा प्रतिनिधिसभाका १५ वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । यस पटक उपत्यकामा अघिल्लो निर्वाचन भन्दा निकै फरक नतिजा आएको छ । यहाँ यसअघिका अधिकांश क्षेत्र एमालेले गुमाएको छ । त्यस्तै २०७४ सालमा एउटा मात्रै क्षेत्र जितेको माओवादी पनि उपत्यकामा शून्य भएको छ ।

उपत्यकामा नेपाली कांग्रेसले ७ सिट, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिट, एमालेले २ सिट र नेपाल मजदुर किसान पार्टी १ सिटमा विजयी हुन सफल भएका छन् । उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसहित अधिकांश नयाँ युवाहरू विजयी भएका छन् ।  

काठमाडौं - निर्वाचन क्षेत्र १
काठमाडौं निर्वाचन क्षेत्र १ बाट निरन्तर विजयी हुँदै आएका प्रकाशमान सिंह यस पटक पनि आफ्नो संसदको यात्रालाई निरन्तरता दिन सफल भएका छन् । ७ हजार १४३ मतले विजयी भएका सिंहलाई  ७ हजार १८ मतसहित पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले रोक्न सकेनन् । मिश्र सिंहसँग लगातार दोस्रो पटक पराजित भएका हुन् । 

२०३६ सालमै नेविसंघ जिल्ला अध्यक्ष  बनेका सिंह काठमाडौंको जिल्ला समिति सभापति (२०४६-२०५६) काम गरे  ।  २०५६ मा कांग्रेस केन्द्रीय सदस्य, २०६२-२०६७ मा केन्द्रीय उपसभापति रहेका सिंह २०६७ मा पार्टीको महामन्त्री भएका थिए । २०५२ सालमा राष्ट्रियसभा सदस्य भएका सिंह २०६५ र २०७० मा संविधानसभा सदस्य भए । २०७४ मा मिश्रलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका सिंह पुनः मिश्रलाईनै हराउँदै निर्वाचित भएका छन् । 

काठमाडौं - निर्वाचन क्षेत्र २
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं - निर्वाचन क्षेत्र २ बाट उम्मेदवार बनेकी सोबिता गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भइन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मणिराम फुयाललाई पराजित गरेकी हुन् । सोबिताका प्रतिद्वन्द्वी फुयालले ११ मत ५५५ मत प्राप्त गरे । 

फुयालसँगै नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पछि पार्दै सोबिता सांसद निर्वाचित भएकी हुन। ओनसरीलाई नेपाली कांग्रेसकोसमेत साथ थियो। एमालेका प्रभावसाली मानिएका फुयाल र सत्ता गठबन्धनकी साझा उम्मेदवार तथा पूर्व सभामुख घर्तीलाई पराजित गर्दै सोबिताले संसदको यात्रा तय गरेकी हुन् ।



काठमाडौं - निर्वाचन क्षेत्र ३
नेपाली कांग्रेसको तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका सन्तोष चालिसेले काठमाडौं - निर्वाचन क्षेत्र ३ मा विजयी हाँसील गरे । उनले १५ हजार १५८ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्‍णबहादुर राई ११ हजार १९६ मतमा सीमित रहन पुगे । 

अघिल्लो चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका राईलाई गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत रहेका चालिसेले हराएका हुन् । 



काठमाडौं - निर्वाचन क्षेत्र ४
 २०७४ सालमा २१ हजार ५५८ मतसहित निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा पुनः काठमाडौं - निर्वाचन क्षेत्र ४ बाट नै निर्वाचित भएका छन् । उनले २१ हजार ३०२ मत पाए । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले जम्मा १३ हजार ८५५ मत मात्रै पाए । 

संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित भएका थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं ४ बाट नै निर्वाचित भएका थापा पुनः २०७९ मा पनि सोही क्षेत्रबाट संसदको यात्रालाई निरन्तरता दिन सफल भएका हुन् ।

२०७३ मा स्वास्थ्यमन्त्रीसमेत बनेका थापाले विद्यार्थी संगठनमा पनि लामो काम गरे । २०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सहभागिता जनाएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । पछि २०५३  मा त्रिचन्द्रमा स्ववियु सचिव भएका थापा २०५५ मा सभापति निर्वाचित भएका थिए । 

त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री र २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । पार्टीको १३औँ महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४औँ महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए । स्नातकोत्तरसम्म अध्ययन गरेका थापा राजनीतिक आन्दोलनका क्रममा २०५९ सालदेखि ०६३ सम्म पटक–पटक हिरासतमा पनि पुगेका थिए । 

काठमाडौं - निर्वाचन क्षेत्र ५
काठमाडौं क्षेत्र नं ५ बाट  प्रदीप पौडेल विजयी भएका छन्। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित  गर्दै संसदको यात्रा तय गरेका हुन् । प्रदीपले १५ हजार २३७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी पोखरेलले जम्मा १० हजार १७५ मत ल्याएर पराजित भए । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा रहेका एमालेका हेभिवेट नेता पोखरेललाई पराजित गर्दै कांग्रेस नेता पौडेलले आफ्नो उचाइ झनै बढाएका छन् ।

लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध रहेका पौडेल एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर गरिब तथा जेहनदार विद्यार्थीको लागिसमेत उनले काम गरेका छन् । 

२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौँ महाधिवेशनमा महासचिवको प्रत्याशी बनेर हार बेहोरेका थिए । उनी २०७० सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा सदस्यमा ६ मतले मात्रै पराजित भएका थिए ।

काठमाडौं - निर्वाचन क्षेत्र ६
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल काठमाडौं - निर्वाचन क्षेत्र ६ बाट निर्वाचित भए । १४ हजार २०४ मतसहित शिशिर निर्वचित हुँदा उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सर्वेन्द्र खनालले भने ८ हजार ९११ मत पाए । 

२०७४ सालको चुनावमा कांग्रेसका भिमसेनदास प्रधान निर्वाचित भएको यो क्षेत्रबाट अहिले शिशिर खनाल विजयी भएका हुन् । टिच फर नेपालका संस्थापकमध्येका एक खनालसँग शिक्षा र स्वास्थ्य मामिलामा राम्रो जानकारी रहेको बताइन्छ ।

काठमाडौं - निर्वाचन क्षेत्र ७
काठमाडौं - निर्वाचन क्षेत्र ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भएका छन् । उनले ८ हजार ७४३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का श्‍यामकुमार घिमिरेले ६ हजार ८०० मत पाए । यहाँ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन्। उनले जम्मा ६ हजार ६३ मत पाएकी छन्।

काठमाडौं - निर्वाचन क्षेत्र ८
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ काठमाडौं - निर्वाचन क्षेत्र ८ बाट निर्वाचित भए । उनले १० हजार १०५ मत पाए भने उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत पाएका छन् ।

काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश सभामा सदस्य रहँदा श्रेष्ठले संसदमा चर्को आवाज उठाउने गरेका थिए ।

काठमाडौं - निर्वाचन क्षेत्र ९
पूर्वमन्त्री तथा एमाले नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं - निर्वाचन क्षेत्र ९ बाट विजयी भए । उनले ११ हजार ९५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल १० हजार ९६१ मतसहित पराजित भए । 

२०३५ सालमा नेकपा (माले)बाट राजनीतिमा विद्यार्थी संगठबनमा आबद्ध रहेका श्रेष्ठले पार्टीमा पनि सफलता पाउँदै आएका छन्  । विद्यार्थी राजीतिबाट उदाएका श्रेष्ठ २०४९ मा नेकपा (एमाले) को राष्ट्रिय परिषद सदस्य बनेका थिए । उनी २०५४ मा एमाले को केन्द्रीय सदस्य भएका थिए । नेकपाको पार्टी कार्यालय मुख्य सचिवका रूपमा पनि कार्यसम्पादन गरिसकेका उनी हाल एमालेको स्थायी कमिटी सदस्य छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका श्रेष्ठ संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा काठमाडौं ९ बाट निर्वाचित भएका थिए । २०४९ मा स्थानीय विकास राज्यमन्त्री तथा २०५९ र २०७७ मा मन्त्री भएका श्रेष्ठ पुनः प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् ।

काठमाडौं - निर्वाचन क्षेत्र १०
काठमाडौं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार के.सी. निर्वाचित भएका छन् । १४ हजार ४४८ मतसहित उनी निर्वाचित भएका हुन् । एमालेका हिमेश के.सी.ले ११ हजार ७८६ मतसहित दोस्रो भए । 

ललितपुर - निर्वाचन क्षेत्र १
ललितपुर - निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उदयशमशेर जबरा निर्वाचित भएका छन् । २३ हजार ८९२ मतसहित जबरा निर्वाचित भएका हुन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवराज सिलवालले १९ हजार २७८ मतसहित पढ्याएपनि सफल हुन सकेनन् । 

ललितपुर - निर्वाचन क्षेत्र २
ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भए । उनले १५ हजार २५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाए । 

ललितपुर - निर्वाचन क्षेत्र ३
ललितपुर - निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की निर्वाचित भएकी छन् । तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने उनलाई पछ्याइरहेका अमृत खड्काले १२ हजार ९६३ मत मात्रै पाए । यहाँ ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

भक्तपुर - निर्वाचन क्षेत्र १
भक्तपुर - निर्वाचन क्षेत्र १ प्रेम सुवाल पुनः विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टीका सुवाल ४२ हजार ७६१ लाउदा एमालेका नवराज गेलाल ११ हवा ९६८ मतमा सीमित हुन पुगे । 

भक्तपुर - निर्वाचन क्षेत्र २
भक्तपुर २ मा निवर्तमान सांसद तथा पूर्वमन्त्री  महेश बस्नेतले हारेका छन् । त्यहाँ नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री निर्वाचित भएका हुन् । दुर्लभ २४ हजार २३९ मतसहित निर्वाचित भए भने २३ हजार २८२ ल्याएका बस्नेत पराजित भए । 
 

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १२:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया