पराजित भइरहने सिंहलाई पाँचौं पटकमा मिल्यो सफलता, को हुन् उनी ?

जम्मा दुई वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा दुवै क्षेत्र लोकतान्त्रिक बाम गठबन्धनको हातबाट फुत्किएको छ । क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंह विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश कुमार बर्तौला विजयी भएका छन् । क्षेत्र नम्बर १ मा विजयी भएका सिंहको निर्वाचन प्रणालीमा पाँचौँ प्रयासमा मिलेको सफलता हो ।  यसअघिका निर्वाचनहरूमा सहभागी भएका सिंह झिनो मतान्तरले पराजित हुँदै आइरहेका थिए । 

लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २३ सय ९३ मतले हराउँदै सिंह विजयी भएका हुन् । सिंह २७ हजार ८ सय १६ मतले विजयी भएका हुन् । उनका प्रतद्वन्द्वी  २५ हजार ४ सय २३ मत ल्याएर दोस्रो भएकी हुन् । सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भएका छन् । यस क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा उम्मेदवार बनेका सिंहले राम्रो मत प्राप्त गरेकै कारण सत्ता गठबन्धनमा रहेका उम्मेदवारहरूलाई गठबन्धनका उम्मेदवारहरू भन्दा पनि सिंह सँगको भिडन्त चुनौती पूर्ण हुने आकलन गरिएको थियो । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मात्रै सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो बनेका थिए । दोस्रोमा रहेको एमालेका उम्मेदवार अनन्त पौडेल भन्दा ३ सय मत मात्रै कम पाएका सिंहले राप्रपाको मात्रै नभई गठबन्धनमा रहेका र एमालेकै मत तानेको राजनीतिज्ञहरूको दाबी छ ।

हेटौंडामा मात्रै होइन मकवानपुरमै जनाधार कम रहेको राप्रपाको स्थानीय तहको मतलाई विश्लेषण गर्दै दीपक सिंहलाई आएको भोट काट्ने रणनीति वाम गठबन्धनकी उम्मेदवार डीना र एमाले–राप्रपा नेपाल का उम्मेदवार कमल थापाको थियो । सोमबार बिहानदेखि सुरु भएको मतगणना बुधबार साँझ सम्म आइपुग्दा पनि १२ हजार मत कटाउन नसकेका सिंहले रातभरमा भारी मत ल्याउन सफल भए । 

पाँचौं पटकमा सफलता
यसअघिका निर्वाचनमा चार पटकसम्म पराजित भएका सिंहको यो पाँचौं पटकमा मिलेको सफलता हो । विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवातदेखि नै राप्रपाको संस्थापन पक्ष हुन् । चार पटकसम्म स्थानीय तहदेखि संविधानसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका सिंह को नसोचेको जित भएको छ । ०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका उनले प्रत्याशी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो । 

त्यस्तै, ०५६ सालको संविधानसभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने ०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो । 



त्यस्तै, ०७३/०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए भने वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर सिंह तेस्रो हुँदै पराजित भएका हुन् । राप्रपाका उम्मेदवार सिंहले २० हजार ३१ मत प्राप्त गरेर  पराजित हुन परेको थियो भने मेयरमा विजयी भएकी मीनाकुमारी लामाले २३ हजार ६७ मत पाएकी थिइन् । निर्वाचनमा सिंहको पाँचौँ पटकको सफलता हो । 

को हुन् निर्वाचित भएका सिंह ?
सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाबाट विजयी हुन् दीपक बहादुर सिंह । बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विं.स. २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दीपकबहादुर ७/८ वर्षको हुँदा आमाबाबुले उनलाई लिएर हेटौंडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा बन्यो । 



माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो । 

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवात देखि नै राप्रपामा आबद्ध छन् । उनी हेटौंडाका सफल उद्योगी व्यवसायी समेत हुन् । 

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १४:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया