मंसिर ४ गते स्थगित भएको बाजुराको बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ । त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडपपछि मतदान स्थगित गरिएको थियो । कडा सुरक्षाका साथ मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान ७ बजे सुरु भएको मतदानमा सय जना बढीले मतदान गरी सकेको जनाएको छ ।
मतदान केन्द्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । त्यस्तै, बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ ।
विवादित बनेको बुढीगंगा, बुढीनन्दा, त्रिवेणी नगरपालिका र गौमुल, जगन्नाथ, खप्तड छेडेदह, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ ।
टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ । त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भिडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।