फुटपाथ नियन्त्रण गर्दै विराटनगर महानगरपालिका

विराटनगरको सौन्दर्यीकरण वृद्धि गर्न र आम सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ । 

महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरले विराटनगरको मेन रोडबाट अभियानको सुरु गरेको हो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो ।

 व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लास्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । 

यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभाबी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यीकरण बढाउने अभियान सकारात्मक भएको भन्दै व्यापारीहरूले खुसी व्यस्त गरेका छन् । उनीहरूले तर महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा जोड दिएका छन् । व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसित आग्रह गरेका छन् ।

नगर प्रहरी निरीक्षक पौडेकाअनुसार पहिलो पटकका लागि महानगर प्रहरी आफैँले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ । महानगरले दुई पटक सार्वजनिक रूपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले बताए ।



नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्र सभा गृह छेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीहरूले जरिवाना तिरेर लिएर जाने गरेका छन् । महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डलले बताए । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 



  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १०:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया