मधेस प्रदेश : प्रतिनिधिसभातर्फ सिरहामा सत्ता गठबन्धन र रौतहटमा एमाले–जसपा गठबन्धन नील

प्रतिनिधिसभातर्फ मधेस प्रदेशको एक जिल्लामा सत्ता गठबन्धन र एक जिल्लामा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका कोही पनि निर्वाचित हुन सकेनन् । 

सिरहामा पाँच दलीय गठबन्धनका कुनै पनि उम्मेदवारले जित निकाल्न नसक्दा रौतहटमा एमाले–जसपा गठबन्धनका उम्मेदवारहरु पराजय भोगेका हुन् । 

सिरहाको निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका रामशंकर यादव २९ हजार ४६२ मतसहित निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पदम नारायण चौधरी २७ हजार ३८९ मत ल्याएर पराजित भए । 

सिरहा–२ मा जसपाका राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भएका छन् । त्यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी चित्रलेखा यादव २३ हजार २८ मत ल्याएर दोस्रो स्थानमा सिमित भइन् ।
 
सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ २८ हजार ६४ मतसहित निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वनाथ यादव २६ हजार ८८२ मत ल्याएर पराजित हुन पुगे । 

त्यस्तै, सिरहा–४ मा जसपाका वीरेन्द्र प्रसाद महतो २४ हजार १०२ मत ल्याएर निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मतसहित तेस्रो स्थानमा चित्त बुझाए । 

रौतहटमा भने सत्ता गठबन्धनका उम्मेदवारले जित निकाल्दा एमाले–जसपा गठबन्धनका उम्मेदवारहरु एक सिट पनि जित्न सकेनन् । 



रौतहट–१ मा सत्ता गठबन्धनको साथ पाएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ता २६ हजार ९२२ मत ल्याई पराजय भोग्नु परेको थियो । 

उता, रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरण साहले ३२ हजार ८४२ मतसहित जित हासिल गर्दा एमाले–जसपा गठबन्धनको साथ पाएका जसपाका शैलेन्द्र साह २ हजार १२२ मतसहित तेस्रो स्थानमा सिमित भएका थिए । 



रौतहट–३ मा एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह ३२ हजार ४३७ मत प्राप्त गरेर निर्वाचित भए । उनको क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट कुनै उम्मेदवार उठेका थिएनन् । 

रौतहट–४ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमलसेना ३४ हजार १६१ मत पाएर निर्वाचित हुँदा एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका एमालेका उद्धव प्रसाद रेग्मी २६ हजार ५५९ मत ल्याई पराजित भए । 

मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रत्यक्षतर्फ ३० क्षेत्रको मतगणना सकिएको छ । 
उता, प्रदेशसभातर्फ सप्तरी–१ को (क) र मा माओवादीका बेचन प्रसाद चौधरी र २ को (ख) मा माओवादीका उमेश यादव पराजित भए भने धनुषामा पनि प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार मातृका प्रसाद यादव पराजित भएका छन् । 

त्यस्तै, प्रदेशसभामा पनि धनुषा–२ को (ख) बाट उम्मेदवार बनेका माओवादीका श्याम कुमार यादव जसपाका रामअशिष यादवसँग पराजित भए ।

  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २१:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया