प्रत्यक्षतर्फ १५४ सिटको टुंगो लाग्यो, ११ स्थानको नतिजा आउन बाँकी

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुंगो लागेको छ । अब ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । 

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ । दोस्रोमा रहेको नेकपा एमालेले ४० वटा क्षेत्रमा जित हासिल गरेको छ । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सात/सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा– मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी, स्याङ्जा–२ मा दलहरूबीच मतगणनाका लागि सहमति जुटेको छैन । 



सुनसरी–१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेकी छन् । उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् । 

सुनसरी–३ मा एमालेकी भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् ।



सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् । एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् । नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन्।

उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् । एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छिन् ।

महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् । माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् । 

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ६:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया