सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेका छन्।
शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आज निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगकका कर्मचारीले नेकपा (एमाले) उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो। निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो।
यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो। कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गरेका छन्।
मतगणना रोकिँदासम्म कार्कीले २३ हजार चार सय ३९ र एमालेका कुसियैतले २३ हजार तीन सय ४१ मत पाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।