बाजुरामा मतगणना अन्योल, आयोगको टोली फिर्ता

बाजुरामा मतगणना अन्योलमा परेको छ । मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना अन्योलमा परेको हो । मतगणना हुने वा केही मतदान केन्द्रमा पुनः मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन सुरु गरेको छ । निर्वाचन आयोगको टोली बाजुरा पुगेर आइतबार काठमाडौ फर्किसकेको छ । आयोगका सहसचिव तुलक्षी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली बाजुरा आएको निर्वाचन कार्यलय बाजुराका प्रमुख नवराज अवस्थीले वताए ।

निर्वाचन आयोगले मतगणना गर्ने वा केही ठाउँमा पुन मतदान गर्ने भन्ने निर्णयका आधारमा अघि बढ्ने भएको छ । आयोगले टोली काठमाडौं पुगेर निर्णय गर्ने भएको र के गर्ने भन्ने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताएका छन् । बुढिनन्दा नगरपालिका ५ मा शनिबार दोस्रोपटक चुनाव भएको थियो । अन्य ठाउँमा भने ४ गते चुनाव सम्पन्न भएको थियो ।

मंसिर ४ गते भएको चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा भएर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा निवेदन दिएका थिए । नेकपा एमालेले १६ बुथमा कांग्रेसले एक्लौटी बुथ कब्जा गरेको आरोप लगाएको छ । त्यस्तै, नेपाली कांग्रेस बाजुराले ८ वटा बुथमा एमालेले कब्जा गरेर फर्जी मत खसाएको आरोप लगाएको छ ।

एमाले, कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा दिएको निवेदनका आधारमा निर्वाचन आयोगलाई जानकारी गराइएको थियो । आयोगमा जानकारी आएपछि निर्वाचन आयोगको टोली स्थलगत छानबिन गरेर फिर्ता भएको हो । आयोगको टोलीले बाजुरामा राजनीतिक दल, कर्मचारीलगायतसँग छलफल गरेको थियो ।

बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको शव सात दिनसम्म पनि आफन्तले बुझेका छैनन् । दोषीलाई पक्राउ नगर्दासम्म शव नउठाउने चेतनका बुवा गगन ऐडीले बताएका छन् । 



नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाई प्रक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा चरणबद्ध आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेर हत्या गरेको एमलेले आरोप लगाउँदै आएको छ। 

मंसिर गते निर्वाचनका दिन जिल्लाको त्रिवेणी नगरपालिकामा गोली चल्दा अर्का २५ वर्षीय युवा सञ्जीव ऐडीको मृत्यु भएको थियो ।



  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार २०:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया