सुदूरपश्चिमको मुख्यमन्त्रीमा प्रधानमन्त्री शेरबहादुरका भतिजा प्रकाशकाे चर्चा

 सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेसका युवा नेता प्रकाश देउवाको नाम चर्चामा आएको  छ ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश निर्वाचनभन्दा पहिले खासै चर्चामा नरहे पनि अहिले उनको नाम चर्चामा आएको छ ।

प्रकाश कैलाली क्षेत्र नम्बर ५ को प्रदेश (ख)बाट एमालेका उम्मेदवार दुर्गा जोशीलाई तीन हजार १ सय ६० मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । देउवा युवा माझ लोकप्रिय र रुचाएका भएकाले सबै पार्टी र समुदायको मत पाएर प्रदेश सभामा सुदूरपश्चिममै सबैभन्दा फराकिलो मतान्तरले विजयी भए ।

युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने मुख्यमन्त्रीका रूपमा देउवालाई हेरिएको छ । उद्योगी व्यापारीहरू र यस क्षेत्रका स्थानीय तहका पदाधिकारी तथा पार्टीका युवा नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सुदूरपश्चिमको प्रदेश सरकारको मुख्यमन्त्री बनाउन आग्रह गरिसकेका छन् । तर, यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् । 

यस्तै, गठबन्धन सरकार बन्ने भएकाले मुख्यमन्त्रीमा अरु प्रदेशसभा सदस्यको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादीका खगराज भट्ट आउने सम्भावना उत्तिकै छ । माओवादीबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा भट्ट एक्ला व्यक्ति छन् । माओवादीमा अहिले उनी सबैभन्दा सिनियर र अवसर नपाएका पात्र हुन् । 

यसअघि डडेल्धुरामा चुनावीसभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए । कैलाली कञ्चनपुरबाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका भट्ट देउवाको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए ।

उनी लगातार तीनपटक २०६४, २९७० र २०७४ सालमा संघीय निर्वाचन देउवासँगै हारेका थिए । उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज रहेका उनी लेखराज भट्टले माओवादी छोडेर एमालेमा गएपछि माओवादीका सिनियर नेताका रुपमा चिनीन्छन् । कांग्रेसका प्रत्यक्षबाट निर्वाचित ११ जनामध्ये कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा, दिवानसिंह विष्टको नाममा पनि चर्चामा रहेको छ ।



३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा बाजुराको दुई निर्वाचन क्षेत्रबाहेक अन्य जिल्लाको ३० क्षेत्रको नतिजा आइसकेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार सुदूरपश्चिममा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले बढी सिट जितेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ११ सिट, माओवादी केन्द्रले ८ सिट, एमाले ३ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, नेकपा एकीकृत समाजवादी २ सिट र स्वतन्त्र एक सिटमा जित हासिल गरेको छ ।



  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १५:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया