नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।
निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे ।
नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे । ‘बहुलवादसित गाँसिएर आएको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरंकुशतामा अल्झन्छ,’ उनले भने ।
हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि संगठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।