पोर्चुगल कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा पुगेको छ । गएराति समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा उरुग्वेलाई २–० हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।
उसले पहिलो खेलमा घानालाई ३–२ ले हराएको थियो । उरुग्वेलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४ मिनेटमा गुइरेरोको पासमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमार्फत उनले नै गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । जिमिनेजले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगललाई दिइएको पेनाल्टीलाई फर्नान्डेजले सदुपयोग गरे ।
तालिकाको शीर्ष स्थानमा रहेको पोर्चुगलले २ खेलबाट ६ अंक जोडेको छ । दोस्रो स्थानको घानाको ३ अंक छ । उरुग्वे र दक्षिण कोरियाले १–१ अंक जोडेका छन् । पोर्चुगलले समूह चरणको अन्तिम खेलमा २ डिसेम्बरमा दक्षिण कोरियाविरुद्ध खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।