कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा २ लाख २८ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोडको दुई प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ मूल्य बराबरको कुल १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।
त्यस्तै, जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।
निष्कासन गरेको सेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही २८ मङ्सिरसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम् १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २८ मङ्सिरसम्म अधिकतम १० हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।