पोल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप नकआउट चरणमा

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्याण्डलाई २–० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।  

अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ४६ मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ६७ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । फर्नान्डेजको पासमा अल्भारेजले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गर्दा अर्जेन्टिना २–० गोलले अघि बढेको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिने अवसर गुमायो । ३९ औं मिनेटमा प्राप्त पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी गोल गर्न चुके । पोलिस गोलकिपरले मेस्सीमाथि फउल गरेपछि अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरिएको थियो । 

पहिलो खेलमा साउदी अरेबियासँग पराजित भए पनि अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई हरायो। लगातार दुई खेलमा जितसहित अर्जेन्टिनाले समूहमा ६ अंक जोड्न सफल भयो । 

हारका बाबजुत पनि पोल्याण्ड समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको हो । 

यसअघि एक खेलमा जित र एकमा बराबरी खेलेका पोल्याण्ड र मेक्सिकोको समान ४–४ अंक भयो । अब अन्तिम १६ मा अर्जेन्टिनाले अस्ट्रेलिया तथा पोल्याण्डले फ्रान्सको सामना गर्नेछन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ६:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया