नवलपरासी जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । 

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । 

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे । 

दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सातजनालाई उद्धार गरी अस्पताल लगिएको छ । 

सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो । 

घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको संख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार २२:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया