राजेन्द्र पाण्डे : सूर्य छाडेर कलम रोजे, सहयात्रीसँगको प्रतिस्पर्धामा सफल भए

हालै सम्पन्न निर्वाचनमा केही उम्मेदवारहरू सफल भए भने केही असफल । ‘भाग्यमा भए लडिलडी आउँछ’ भन्ने नेपाली उखान हामी सबैले पक्कै सुनेका छौँ । कडा प्रतिस्पर्धाका बीचमा पनि केही उम्मेदवारहरूलाई भने त्यस्तै सफलता प्राप्त भएको छ । केही जिल्ला बाहेक मंसिर ४ मा सम्पन्न प्रदेश तथा संघीय निर्वाचनको मत परिणाम लगभग आइसकेको छ । अघिल्ला निर्वाचनहरू भन्दा हालै सम्पन्न निर्वाचनमा केही बेग्लै अनुभव देख्न पाइयो । यस्तै रोचक बन्यो धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा । 

नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्रप्रसाद पाण्डेको चुनावी क्षेत्र रहेको धादिङ – १ मा उनलाई चुनौती दिँदै उनकै सहयात्री प्रतिस्पर्धामा उत्रिएका थिए । यसअघिका निर्वाचनमा नेकपा एमालेमा रहँदै सूर्य चुनाव चिन्हले जितिरहेका पाण्डेलाई कलमले पत्याउलान् नपत्याउलान् पीडा थियो । संसद विगठन पछि एमालेबाट छुटेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका पाण्डेलाई भने जनताले अनुमोदन गरे । 

आफ्नो पार्टीको जनमत कमजोर रहे पनि गठबन्धनमा आबद्ध राजनीतिक दलका मतदाताहरूको मतले बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेलाई प्रतिनिधि सभा सांसद बनाइदिए । देशभर कलम कमजोर साबित हुँदा धादिङ १ मा भने भारी मत ल्याउँदै कलमले एकीकृत समाजवादीकै इज्जत बचाइदियो । एसका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेलाई यो निर्वाचनमा पार्टी परिवर्तनले घाटा भने लगाएन । 

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारको रूपमा संघीय संसदका उम्मेदवार बनेका पाण्डेलाई अघिल्ला निर्वाचनमा आफ्नै सहयात्री भूमि त्रिपाठी सँग चुनौती थियो । २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बन्दा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए । 

दुवै नेता वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए र दुवै विजयी पनि बने । २०७४ सालको निर्वाचनमा एकै पार्टीमा रहेका त्रिपाठी र पाण्डेको चुनावी भिडन्तमा त्रिपाठी पाण्डेसँग पराजित भए । प्रत्यक्ष तर्फको ६ सिट मध्ये ५ सिटका लागि उम्मेदवार उठाएको एमालेले एक सिट पनि जित्न सकेन । विजयी भएका पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याउँदा एमालेका त्रिपाटीले २७ हजार ९ सय ५३ मत ल्याएका हुन् । 

कलम फापेका पाण्डे 
यसपालिको निर्वाचनमा ठूला राजनीतिक शक्ति मानिएका नेताहरू साना दलहरूसँग पराजित भइरहन परेको यथार्थ सर्वव्यापी नै छ । बागमती प्रदेशको १३ जिल्लाको मात्रै सन्दर्भलाई हेर्ने हो भने पनि चितवनमा एमालेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको जित, मकवानपुरमा पाँच दलीय सत्ता गठबन्धनलाई हराउँदै राप्रपाको जित, ललितपुर, काठमाडौं लगाएका क्षेत्रहरूमा पनि ठूला दलले हार्दा नयाँ अनुहारका उम्मेदवारहरूलाई जिताइयो । 



यसको अर्थ के मान्न सकिन्छ भने मतदाताहरू नयाँ अनुहारको खोजीमा छन् । विकास प्रेमी नेताको पर्खाइमा छन् । त्यसो त धादिङमा समानुपातिकतर्फ एकीकृत समाजवादीले दरिलो मत ल्याउन नसके पनि राजेन्द्रप्रसाद पाण्डेलाई भने कलम फापेको पाइएको छ । 

पार्टीलाई मत दिनको संख्या न्यून रहे पनि पाण्डेले अप्रत्याशित मत ल्याउनुलाई उनको लोकप्रियता पनि मान्न सकिन्छ । परिवर्तन खोजिरहेका मतदाताले सूर्य चिन्हबाट जितेर पटक/पटक संघीय सांसद, प्रदेश मुख्यमन्त्री समेत भएका उनलाई पुनः संघीय सांसदमा कलम चिन्हमा पनि जिताएर पठाउनुले पाण्डेलाई कलम फापेको साबित भएको छ । 



सधैँको विजयी 
मुख्यमन्त्री पाण्डे ०४३ सालदेखि धादिङको संसदीय राजनीतिमा छन् । पाण्डेले एमालेबाट उम्मेदवार भई ०४८, ०५१, ०५६, ०७० र ०७४ सालमा चुनावी नतिजा आफ्नो पोल्टामा पारेका थिए । उनी ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । 

०७४ को निर्वाचनमा पाण्डे प्रदेश सभा (क)बाट २७ हजार ३ सय ३२ मत ल्याई विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । पाण्डेको राजनीतिक यात्राको नतिजालाई हेर्ने हो भने उनी सधैं विजयी भइरहने नेताको रूपमा पनि लिन सकिन्छ । ठूला दल नेकपा एमाले त्यसमा पनि सत्ता गठबन्धनको बलमा विजयी भइरहेका उनलाई आगामी निर्वाचनमा पार्टी परिवर्तनको असर देखिएला कि भन्ने आम बुझाई थियो ।

 तर उनको व्यक्तिगत जनमतकै कारण पनि सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई पराजित गर्दै विजयी बने । त्यसमा पनि भारी मतान्तर अर्थात् ७ हजार ९ सय ८१ मत ल्याएर पाण्डेले आफ्नो विजयको यात्रालाई निरन्तरता कायम राख्न सफल भए ।  

  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १५:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया