कांग्रेस वा एमालेसँग गठबन्धन गर्न माओवादीको पहिलो सर्तः आलोपालोमा पहिलो प्रधानमन्त्री प्रचण्ड

नेकपा माओवादी केन्द्रले शनिबार दिउँसो केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलायो । यो बैठकमा चुनावको समीक्षा गर्ने योजना बनाइएको थियो । 

बैठकमा चुनावको समीक्षा मात्र भएन, अब बन्ने सरकार र गठबन्धनको विषयमा पनि चर्चा भयो ।

बैठक सुरु हुनुभन्दा पहिले नै नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले अहिलेको आवश्यकता देशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु पर्ने बताएका थिए । उनले प्रचण्ड प्रधानमन्त्री हुँदा देशको कल्याण हुने बताएका थिए ।

तर, यसका लागि अहिलेको गठबन्धनबाट पछाडि हट्ने भन्ने विषयमा कुनै चर्चाको आवश्यकता नभएको पनि बताएका थिए । ‘अहिलेको परिस्थितिमा गठबन्धनबाट नै प्रचण्ड प्रधानमन्त्री हुने भएकाले अरु कसैको काँध चढ्नु पर्दैन,’ उनले भने, ‘नेकपा एमालेले पनि अफर गरेको छ, तर त्यो अवसरवादी अवसर हो ।’ 

उनले नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्व रहेसम्म एमालेमा जान नहुने बताएका थिए ।

उनको यो प्रतिक्रिया आएको केही समयमा नै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भयो ।



बैठक सकिए पछि पत्रकारसँग नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन अहिले छोड्ने निर्णय नभएकोलाई प्राथमिकतामा राखेर भने । तर, सँगसँगै उनले अबको सरकार गठनको विषयमा माओवादीले सबै विकल्प ढोका खुला राख्ने निर्णय गरेको पनि सुनाए ।

उनले यस्तो भन्नुको अर्थ हो, नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पनि मिलेर सरकार बनाउन सक्नेछ ।



बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि सरकार गठनको विषयमा एमालेसँग पनि वार्ता हुनसक्ने बताएका थिए । यसअघि नेकपा एमालेका नेताहरु पृथ्वीसुब्बा गुरुङ, शेरधन राईलगायतले पनि नेकपा एमालेको नेतृत्वमा सरकार बन्न सक्ने र त्यसका लागि नेकपा माओवादी केन्द्रसँगको साथ लिन सकिने बताएका थिए ।

अहिलेको गठबन्धनलाई माओवादी केन्द्रले साथ छोडिहाल्ने अवस्था चाहिँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कारण पनि देखिँदैन ।

‘उहाँहरुले यता बार्गेनिङका लागि पनि नेकपा एमालेसँग पनि सरकार बनाउनका लागि विकल्प खुला राख्ने भनेको हुनसक्छ,’ नेपाली कांग्रेसका एक नेताले फरकधारलाई भने, ‘उहाँहरुले यता आलोपालो प्रधानमन्त्री हुँदा पहिले आफूहरुले नेतृत्व लिन पाउनु पर्छ भन्ने सन्देश छोडिसक्नु भएको छ ।’

के पहिले माओवादी केन्द्रको नेतृत्वलाई प्रधानमन्त्री दिएमा नेकपा माओवादी केन्द्रले एमालेसँग मिलेर सत्ता नेतृत्व गर्न सक्छ त ? 

‘अहिले यो सब भइरहेको सत्तामा को पुग्ने भन्नका लागि हो,’ नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले फरकधारलाई भने, ‘सत्तामा मै पुग्यौँ भन्ने कुरा अहिलेका नेताहरुमा बढी छ । नीति तथा सिद्धान्त भन्ने कुरा हराइसकेको छ । त्यसैले आफू पदमा पुग्न पाएमा जे पनि हुनसक्छ, त्यसलाई अन्यथा मान्नु हुँदैन ।’

उनले अहिलेको चुनावी नतिजाले स्पष्ट रुपमा जनताले परिवर्तन खोजेको भए पनि शीर्ष नेताहरु आफूहरुले नै पदमा आसिन हुन पाउनु पर्ने भन्दै अगाडि बढिरहेकाले अबका समीकरणमा पनि पदसँग जोडिएर आउने बताए ।

अर्का एक माओवादी केन्द्रका नेताले एमालेले प्रचण्डलाई आलोपालो प्रधानमन्त्रीमा पहिले प्रचण्डलाई अफर गरेको खण्डमा एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाउन सक्ने सम्भावनालाई नकार्न नसकिने बताए ।

  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २०:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया