निर्वाचित जनप्रतिनिधिलाई धनगढी उपमहानगरको बधाई तथा स्वागत

धनगढी उपमहानगरपालिकाको विकासका लागि तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको निर्वाचित सांसदले जोड दिएका छन् । 

आइतबार कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई धनगढी उपमहानगरले बधाई तथा स्वागत कार्यक्रममा भर्खरै निर्वाचित सांसदले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी सांसदले विकासका लगि समन्वय सहकार्यविना सम्भव नभएको बताए । ‘तीन तहका जनप्रतिनिधि एक ठाउँमा छौँ । सबैको कार्य क्षेत्र एकै रहेको छ’, कार्यक्रमका प्रमुख अतिथि तथा कैलाली क्षेत्र नम्बर ५ का भर्खरै निर्वाचित प्रतिनिधि सभा सांसद डिल्लीराज पन्तले भने । ‘स्थानीय तहसँग समन्वय र सहकार्य नगरेर विकास सम्भव देखिँदैन ।’ 

बजेट जसको भए पनि कार्यान्वयन गर्ने निकाय स्थानीय सरकार भएको हुँदा संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्व गरेर नै अगाडि बढ्न आवश्यक रहेको सांसद पन्तले बताए । ‘संविधानमा तीन तहकै सरकारका एकल तथा साझा अधिकार छन्,' उनले भने, ‘त्यसका लागि पनि विकासका लागि सहकार्य अपरिहार्य छ ।’ 

निर्वाचनसम्म दलका उम्मेदवार भए पनि निर्वाचित भएपछि कुनै एक दलका सांसद नरहने बताउँदै सांसद पन्तले जनताका निम्ति काम गरेर देखाउन समय आएको बताए । ‘धनगढी उपमहानगर भएको धेरै वर्ष भएको छैन’, उनले भने, ‘धेरै यहाँ ग्रामीण क्षेत्र समेत छन् । त्यसले गर्दा उपमहानगर तथा क्षेत्र नम्बर ५ मा समानुपातिक ढंगले विकासको नीति लिनुपर्दछ ।’ 

निर्वाचित सांसद पन्तले धनगढीका विकासका मुद्दा तीन तहका जनप्रतिनिधिले ५ वर्षमा एकसाथ अगाडि बढ्न सकेमा मुहार फेरिनेमा जोड दिए ।



कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित प्रदेश सभा सांसद प्रकाश देउवाले पनि निर्वाचन भन्दा अगाडि दलका उम्मेदवार भए पनि निर्वाचित भएपछि सबैको साझा जनप्रतिनिधि भएको हुँदा विकासका लागि एक ठाउँमा आउन आवश्यक रहेको औँल्याए । ‘सबैका उदेश्य विकास गर्ने हो,’ उनले भने, ‘त्यसले गर्दा अब पश्चिमबाट पनि केही विकासका काम सुरुवात गर्नुपर्दछ । त्यसका लागि संविधानको मर्मअनुसार सहकार्य र सहअस्तित्वको आवश्यकता छ ।’ 

अहिलेको प्रदेश सरकारले गरेका काम घामझैँ छर्लंङ रहेको उनले स्मरण गराए । ‘स्थानीय सरकारले ग्राभेल गर्ने अनि प्रदेशको बजेट पनि त्यसै सडकमा हाल्ने गरेको छ’, उनले भने, ‘जुन तहको बजेट भए पनि जनताको बजेट नै भएको हुँदा विकासका लागि तीन वटै सरकार लाग्नुपर्दछ ।’ 



उनले ५ वर्ष धनगढीको विकासका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित प्रदेशसभा सांसद रमेश धामीले विकास गर्नकै लागि जनप्रतिनिधि भएको हुँदा सबैका सहकार्य आवश्यक रहेको औँल्याए । समानुपातिक ढंगले विकासका लागि सबैको सहभागिता हुनुपर्ने सांसद धामीले बताए ।

‘उपमहानगरपालिकाको सहयोगविना विकास सम्भव नभएको हुँदा समन्वय र सहकार्य मै हुनेछ’ उनले भने । ‘अर्को कुरा विकासमा विविध पनि हुनु हुँदैन ।’

कार्यक्रममा उपमहानगरपालिका मेयर गोपाल हमालले धनगढीलाई बनाउन एक्सनका साथ अगाडि बढ्न आवश्यक रहेको बताए । पुस मसान्तभित्र योजना अगाडि बढाइसक्नुपर्ने हुँदा सबैले एक भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ । ‘तीन तहका जनप्रतिनिधि एकपटक धनगढीका सबै वडामा संयुक्त रुपमा अवलोकन गरौँ,’ हमालले भने, ‘कुन ठाउँमा के आवश्यक छ । त्यसैअनुसार योजनाहरु प्राथमिकीकरण गरौँ । विकास सम्भव छ ।’ 

जनताले भाषणभन्दा पनि काम खोजेको हुँदा त्यसैअनुसार अगाडि बढ्न आवश्यक रहेको मेयर हमालले बताए । ‘धनगढीमा खानेपानी सबै वडामा पुगको छैन । बत्ती समेत पुगेको छैन । अझ पनि धनगढीको १७ नम्बर वडामा जानुपरेमा अर्को पालिका भएर जानुपर्दछ’, मेयर हमालले भने । 

धनगढीको डुवान समस्या समाधानका लागि तीन तहको सरकार सहकार्य विना सम्भव नभएको उनले बताए । ‘अहिलेको नेतृत्वप्रति जनता आशावादी छन् । धनगढीको विकास लागि सहरी क्षेत्र र ग्रामीण क्षेत्र छुट्याएर अगाडि बढ्नुपर्दछ,' उनले भने ।

सुदूरपश्चिमको धनगढीमा मात्र राम्रो काम गर्न सकेमा धेरैले सिको गर्ने मेयर हमालको तर्क रहेको छ । ‘आज राम्रो सडक हेर्नका लागि पूर्वतिर वा विदेशतिर जानुपर्दछ,’ उनले भने, ‘धनगढीमै राम्रो सडक निर्माण गरौँ । यसलाई प्रयोगशाला बनाउँ । त्यसका सिको पक्कै पनि सबैले गर्नेछन् ।’ 

धनगढीका १९ वडा वडा अध्यक्ष र कर्मचारी सहभागी रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपमेयर कन्दकला रानाले गरेकी हुन् ।

  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १७:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया