शिक्षाको नाममा राजनीति गर्नु हुँदैन : नवनिर्वाचित सांसद महतो

धनुषा–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले शिक्षाको नाममा राजनीति नगर्न आग्रह गरेकी छन् । 

सोमबार बिहान जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको निरीक्षण गर्न पुगेकी नवनिर्वाचित सांसद महतोले शिक्षामा राजनीति प्रवेश गर्न नहुने बताएकी हुन् । 

उनले राराब क्याम्पसको विकासका लागि आवश्यक योजना बनाएर ल्याउन क्याम्पस प्रशासनलाई आग्रहसमेत गरिन् । महतोले राराब क्याम्पस राष्ट्रको धरोहरको रूपमा रहेकाले यसको विकासका लागि आफू पछाडि नपर्ने बताइन् । 

जुलीले यस क्याम्पसको विकासका लागि चाहिने आवश्यक सम्पूर्ण पक्षको बारेमा सम्बन्धित निकायसम्म कुरा नै नपुगेकोले पछाडि परेको जिकिरसमेत गरिन् । 

जुलीले यसअघि आफू समानुपातिक सांसद रहेको बेलामा पनि कसैले राराबका लागि कुनै योजना लिएर आफूसमक्ष नआएको गुनासो गरिन् ।

उनले यस क्याम्पसको जिम्मेवारी अब आफूमाथि पर्न गएकोले क्याम्पसको चौतर्फी विकासका लागि आवश्यक रहेको कुरालाई योजनाबद्ध रूपमा प्लानिङ गरेर फाइल ल्याउन क्याम्पस प्रशासनसँग आग्रह गरेकी छन् ।



सात दशक पुरानो यो क्याम्पस विस्तारैविस्तारै धरासायी हुने अवस्थामा पुगेको छ । कुनै समयमा १० हजारभन्दा बढी विद्यार्थीले भरिभराउ रहने राराब क्याम्पस अब भने विद्यार्थी अभावमा सुनसान देखिन थालेको छ । 

कुनै समयमा ‘क’ वर्गमा रहेका यो क्याम्पस अहिले ‘ग’ वर्गमा झरेको छ । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थी देशको उच्च ओहोदासम्म पुगिसकेका छन । 



देशका चर्चित डाक्टर, इन्जिनियर, मन्त्री, सांसदसहितका राजनीतिज्ञसमेत यस क्याम्पसबाट उत्पादन भएका छन् । तर, सरकारी नीतिका कारण आज यो क्याम्पस सबैका लागि बिरानो बनेको छ ।  

  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ११:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया