नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको छ । यहाँको प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ । 

दिल्लीको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्‍तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्‍तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ । 

सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरू अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ । 

सो आयोगको आइतबार अपरान्ह ४ बजेको रिपोर्टमा वायु प्रदूषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् ४ सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एकदेखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र ४ सय १ देखि माथि ५ सयसम्मलाई गम्भीर तह अर्थात् घातक मानिएको छ । 

नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदूषणको मात्रा बढ्ने गरेको पाइन्छ । यस वर्ष अहिले नै यहाँको प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदूषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।  





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ११:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया