कर्णाली संसदमा युवाकाे उपेक्षा
कर्णालीको प्रदेश सभाका सबैभन्दा बढी उमेरका सांसद विनोदकुमार शाह (६६) वर्ष (बायाँ) र सबैभन्दा कान्छा सांसद घनश्याम भण्डारी (३९) वर्ष (दायाँ)

नीति निर्माण गर्ने स्थानमा युवाको सहभागिताका विषयमा कर्णालीमा पटक–पटक बहस भए । युवा सहभागितालाई देश निर्माणको मेरुदण्डका रुपमा परिभाषित गरिन्छ । तर, यता कर्णालीको प्रदेश सभामा भने युवाले प्रवेश नपाउने भएका छन् ।

राष्ट्रिय युवा नीति, २०७२ ले १६ वर्षदेखि ४० वर्षसम्मका नागरिकलाई युवाका रुपमा परिभाषित गरेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ युवा उमेर समूहका उम्मेद्वार एकजना मात्रै निर्वाचित भए । प्रत्यक्षतर्फ निर्वाचित भएर आउने २४ जनामध्ये सबैजना सोभन्दा माथिल्लो उमेर समूहका छन् ।

नेपालको संविधान, २०७२ ले प्रदेश सभाका लागि न्यूनतम २५ वर्ष उमेर पूरा भएको व्यक्ति प्रदेश सभा सदस्यका लागि योग्य रहने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा १७८ को १(ङ) मा २५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक प्रदेशसभा सदस्यका लागि योग्य हुने व्यवस्था छ ।

यस अर्थमा हेर्दा युवा उमेर समूहमा रहेका नागरिकसमेत प्रदेशसभाका लागि योग्य छन् । तर, हाल कर्णाली प्रदेशसभाका लागि निर्वाचित भएका उममेद्वारको उमेर हेर्दा २४ सांसदमध्ये एकजना मात्र युवा उमेर समूहमा पर्छन् ।

कसको उमेर कति ?

प्रदेश सभातर्फ सबैभन्दा कम उमेरबाट निर्वाचित हुनेमा दैलेखको निर्वाचन क्षेत्र नं. २(क)बाट निर्वाचित घनश्याम भण्डारी हुन् । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उनी अहिले ३९ वर्षको भए । नेता भण्डारीको जन्म वि.सं. २०४० असार १४ गते भएको हो ।​अबको सात महिनापछि उनि पनि युवा उमेर समूह पार गर्छन् । यसैगरी,



सबैभन्दा धेरै उमेर भएका व्यक्तिमा दैलेखको निर्वाचन क्षेत्र नं. २(ख) बाट निर्वाचित नेकपा एमालेका नेता विनोदकुमार शाह छन् । उनी २०१३ साल वैशाख ४ गते जन्मिएका हुन् । उनी अहिले ६६ वर्षका भए ।

निर्वाचन आयोगको तथ्यांकअनुसार सुर्खेत १ (क) बाट निर्वाचित कांग्रेस नेता खड्गबहादुर पोखरेल अहिले ५९ वर्षका भए । सुर्खेत १(ख) बाट निर्वाचित माओवादी केन्द्रका नेता कृष्णबहादुर निसी अहिले ४२ वर्षका भए । यसैगरी सुर्खेत २(क) बाट निर्वाचित एमाले नेता यामलाल कँडेल ६१ वर्ष, सुर्खेत २ (ख) बाट निर्वाचित माओवादी केन्द्रका नेता विन्दमान विष्ट ४३ वर्षका भएका छन् ।



दैलेख १(क)बाट निर्वाचित कांग्रेस नेता पूर्णबहादुर खत्री अहिले ५५ वर्षका भए । दैलेख १(ख) बाट निर्वाचित कृष्णकुमार बिसी ५८ वर्षका भएका छन् । 

जाजरकोट १(क) बाट निर्वाचित कांग्रेस नेता वेदराज सिंह ४२ वर्ष, जाजरकोट १(ख)बाट निर्वाचित कांग्रेस नेता राजिवबिक्रम शाही ५४ वर्ष भएका छन् । सल्यानको १(क) बाट निर्वाचित माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मा ५८ वर्ष र १(ख) बाट निर्वाचित कांग्रेस नेता सुरेश अधिकारी ५४ वर्ष भएका छन् ।

रुकुम पश्चिमको निर्वाचन क्षेत्र १(क) बाट निर्वाचित माओवादी केन्द्रका नेता महेन्द्र केसी ५० वर्ष र १(ख) बाट निर्वाचित राजकुमार शर्मा ५१ वर्ष भएका छन् । शर्मा माओवादी केन्द्रका नेता हुन् । कालिकोटको १(क) बाट निर्वाचित माओवादी केन्द्रका नेता दुर्गबहादुर रावत ५४ वर्षका भए । यसैगरी कालिकोटको १(ख)बाट निर्वाचित कांग्रेस नेता हिक्मतबहादुर विष्ट ६४ वर्षको भएका छन् ।

जुम्लाको १(क) बाट निर्वाचित स्वतन्त्र उम्मेद्वार देवेन्द्रबहादुर शाही ६० वर्षका भएका छन् । जिल्लाको १(ख) बाट निर्वाचित नेकपा एमालेका नेता टेकराज पछाई ४२ वर्षका छन् ।

मुगुको १(क) बाट निर्वाचित एमाले नेता जितबहादुर मल्ल ५२ वर्षका भएका छन्, १(ख) तर्फ निर्वाचित माओवादी केन्द्रका नेता मंगलबहादुर शाही ५४ वर्षको भएको निर्वाचन आयोगको तथ्यांक छ ।

यसैगरी हुम्लाको निर्वाचन क्षेत्र १(क) बाट निर्वाचित माओवादी केन्द्रका नेता रणसिंह परियारको उमेर ४६ वर्षको छ । जिल्लाको १(ख) बाट निर्वाचित कांग्रेस नेता जीवनबहादुर शाही अहिले ५८ वर्षको भए । डोल्पाको १(क) बाट निर्वाचित एमाले नेता शेरबहादुर बुढा अहिले ४५ वर्षको भए, १(ख) तर्फबाट बाट निर्वाचित वीरबहादुर शाही ५५ वर्षका छन् ।

सांसदका लागि अधिकतम उमेरहद छैन

प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दिनेहरुको योग्यतामा न्यूनतम उमेर योग्यताको व्यवस्था भएपनि उमेरहद् भने छैन । २५ वर्ष पुरा भएको नेपाली नागरिक उमेरगत रुपमा प्रदेश सभा सदस्यका लागि योग्य रहन्छन् । 

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा उम्मेद्वारको योग्यताका रुपमा नेपालको नागरिक, सम्वन्धित प्रदेशभित्रको पालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, कुनै कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको र २५ वर्ष उमेर पूरा भएको भन्ने व्यवस्था छ ।

  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १५:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया