मधेस प्रदेश : प्रतिनिधिसभातर्फ ३३ महिला उम्मेदवारमध्ये दुईजना मात्र निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको देशभरिको १६५ वटै निर्वाचन क्षेत्रको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभातर्फ मधेस प्रदेशको ८ वटै जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रको नतिजा पनि सार्वजनिक भई जनताले आ–आफ्नो क्षेत्रका लागि नयाँ जनप्रतिनिधि चुनिसकेका छन् । 

तर, निर्वाचनको नतिजा हेर्दा मधेस प्रदेशमा प्रमुख राजनीतिक दलहरूले पनि प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदवार बनाउने सम्बन्धमा उपेक्षा गरेको देखिएको छ । 

मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आनाकानी गरेको पछिल्लो नतिजाले स्पष्ट हुन्छ । यस प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले दुई र नेपाली कांग्रेसले एक क्षेत्रबाहेक अन्य क्षेत्रमा महिला उम्मेदवार नै उठाएको छैन भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपालगायतका अन्य दलहरूले महिलालाई भने कुनै अवसर नै प्रदान गरेको छैन । 

यस प्रदेशमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी जुलीकुमारी महतो र ज्वालाकुमारी साहबाहेक अन्य कुनैपनि महिला उम्मेदवारले जित हासिल गर्न सकेकी छैनन् ।  धनुषा–३ मा जुलीले लोसपाका अनिल कुमार झालाई हराउँदा बारा–३ मा ज्वालाले जसपाका रामबाबु कुमार यादवलाई पराजित गरेकी छन् । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सप्तरीबाट कूल ७० जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ५ मात्र थियो भने सिरहाबाट कूल ८७ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या ७ मात्र थियो । 

उता, धनुषाबाट कूल १०१ जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ६ मात्रै थियो । धनुषाको अन्य क्षेत्रबाट कुनैपनि दलले महिला उम्मेदवार खडा गरेको थिएन । ६ जना सबै क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनेकी थिइन् । 



महोत्तरीबाट ६७ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवारको संख्या ५ मात्रै थियो भने सर्लाहीको सबै क्षेत्रबाट १÷१ जना गरी ४ जना महिलाले उम्मेदवारी दिएकी थिइन् । त्यहाँबाट जम्मा ६९ जनाले उम्मेदवारी दिएका थिए । 

रौतहटबाट कूल ६७ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवारको संख्या ४ मात्र थियो भने बाराको निर्वाचन क्षेत्र नम्बर–३ बाट मात्र २ जना महिलाको उम्मेदवारी परेको थियो । जबकि जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट कूल ७६ जनाले उम्मेदवारी दिएका थिए । 



पर्साबाट त झन् ५३ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवारको संख्या शून्य रहेको थियो । 

यस प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि कूल ३३ जना महिला उम्मेदवारले उम्मेदवारी दिएपनि २ जना मात्र निर्वाचित हुन सकेकी छन् । 
सप्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि २० जनाको उम्मेदवारी पर्दा नागरिक उन्मुक्ति पार्टीले मात्र एकजना महिला टिकालक्ष्मी चौधरीलाई उम्मेदवार बनायो । उनले १ हजार ३७८ मत ल्याइन् । त्यहाँबाट जसपाका नवल किशोर साह २३ हजार ६०४ मत ल्याएर निर्वाचित भए । 

सप्तरी–२ बाट १६ जनाको उम्मेदवारी पर्दा नेपाली जनता दलले चन्द्रकुमारी देव (१५५ मत), पिछडावर्ग निषाद दलित जनजाती पार्टीले सुमित्रा मण्डल (७२ मत) र नेपाल संघीय समाजवादी पार्टीले प्रमीला देवी मण्डल (३१ मत) लाई उम्मेदवार बनायो । त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भए । 

त्यस्तै, सप्तरी–३ बाट १८ जनाको उम्मेदवारी पर्दा कुनै दलबाट महिलाको उम्मेदवारी परेन । त्यहाँबाट नेपाली कांग्रेसका दिनेश कुमार यादव २६ हजार १६६ मत ल्याएर निर्वाचित भए । 

सप्तरी–४ बाट १६ जनाको उम्मेदवारी पर्दा एकजना महिला माधुरी कुमारी साहले मात्र स्वतन्त्र उम्मेदवारी दर्ता गराइन् । उनले १४३ मत मात्र प्राप्त गर्न सकिन् । त्यहाँबाट नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार ४९१ मत ल्याएर निर्वाचित भए । 

सिरहा–१ बाट २३ जनाको उम्मेदवारी पर्दा सरिता गिरीले स्वतन्त्र (५०२ मत¬) र नेपालका लागि नेपाली पार्टीले रीता देवी साहलाई उम्मेदवार बनाएको थियो । उनले १३१ मत पाइन् । त्यहाँबाट नेकपा एमालेका रामशंकर यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भए । 

सिरहा–२ बाट २४ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसले चित्रलेखा यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शिला देवी रामलाई उम्मेदवार बनाएको थियो । चित्रलेखाले २३ हजार २८ मत पाउँदा शिलाले ४६ मत पाएकी थिइन् । त्यहाँबाट जसपाका राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भए । 

सिरहा–३ बाट २१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये एकजना महिला सिता पोखरेलले मात्र स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले मात्र १९ मत प्राप्त गर्न सकिन । त्यहाँबाट नेकपा एमालेका लिलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित भए । 

सिरहा–४ बाट १९ जनाको उम्मेदवारी पर्दा राप्रपाले नगिना कुमारी झा र नेपाल आमा पार्टीले तारा देवी भण्डारीलाई उम्मेदवार बनाएको थियो । नगिनाले १ हजार ७३ मत ल्याउँदा ताराले ११३ मत पाएकी थिइन् । त्यस क्षेत्रबाट जसपाका बिरेन्द्र प्रसाद महतो २४ हजार १०२ मत ल्याएर निर्वाचित भएका थिए । 

धनुषा–१ मा २५ जनाको उम्मेदवारी पर्दा एकजना पनि महिला उम्मेदवार थिएनन् । त्यहाँबाट जसपाका दीपक कार्की २७ हजार ४३१ मत ल्याएर निर्वाचित भए । 

धनुषा–२ मा १६ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिला उम्मेदवारको संख्या शून्य थियो । त्यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव २० हजार ११२ मत ल्याएर निर्वाचित भए । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट ३१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये नेकपा एमालेले जुलीकुमारी महतो, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रविण कुमारी ठाकुर (३५९ मत) र नेपाल जनता पार्टीले पूनम चौधरी (२०१ मत) लाई उम्मेदवार बनाएको थियो भने मिलन कुमारी साह (३५ मत), पूजा साह (१० मत)  र ज्योति कुमारी साह (७ मत) ले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । यस क्षेत्रबाट नेकपा एमालेकी जुलीकुमारी महतो ३३ हजार ३८८ मत ल्याएर निर्वाचित भइन् । 

धनुषा–४ बाट २९ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवारको संख्या शून्य थियो । त्यहाँबाट नेकपा एमालेका रघुवीर महासेठ ३२ हजार २३६ मत ल्याएर निर्वाचित भए । 

महोत्तरी–१ मा १५ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले खेमकुमारी भुर्तेल र राप्रपाले पूजा घिमिरेलाई उम्मेदवार बनाएको थियो । भुर्तेलले २ हजार ६४ मत पाउँदा घिमिरेले ९७४ मत पाएकी थिइन् । त्यहाँबाट नेकपा एमालेका लक्ष्मी महतो २३ हजार ४०२ मत ल्याएर निर्वाचित भए । 

महोत्तरी–२ मा १७ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिला उम्मेदवार एकजना पनि थिएनन् । त्यहाँबाट लोसपाका शरत सिंह भण्डारी २५ हजार १९० मतसहित विजयी हासिल गरेका थिए । 

महोत्तरी–३ बाट २१ जनाको उम्मेदवारी पर्दा नेशनलिष्ट पिपल्स पार्टीले जिवछी देवी (३४२ मत), राप्रपा नेपालले गुलाव कुमारी देवी मण्डल (९९ मत) र एकीकृत शक्ति नेपालले एल्सा झा (९६ मत) लाई उम्मेदवार बनाएको थियो । त्यहाँबाट लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित भए । 

महोत्तरी–४ मा १४ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिला उम्मेदवारको संख्या शून्य थियो । त्यस क्षेत्रबाट नेपाली कांग्रेसका महेन्द्र कुमार राय २५ हजार ४४८ मत ल्याएर निर्वाचित भए । 

सर्लाही–१ बाट १९ जनाको उम्मेदवारी पर्दा एकजना मात्र महिला उम्मेदवार आकाश वती दनुवारले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले ३८ मत मात्र पाउन सकिन । त्यस क्षेत्रबाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मत ल्याएर निर्वाचित भए । 

सर्लाही–२ मा १७ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये एकजना महिला शुसिला कुमारीले मात्र स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले ४५ मत मात्र पाउन सकिन । त्यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव २३ हजार ५२९ मत ल्याएर निर्वाचित भए । 

सर्लाही–३ मा १३ जनाको उम्मेदवारी पर्दा हाम्रो नेपाली पार्टीले मात्र एकजना महिला भवानी घिमिरेलाई उम्मेदवार बनाएको थियो । उनले ५७८ मत पाइन् । त्यस क्षेत्रमा नेकपा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत ल्याएर निर्वाचित भए । 

सर्लाही–४ बाट २० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये एकजना महिला मधुमाला कुमारीले मात्र उम्मेदवारी दिएकी थिइन् । उनले १४ हजार ६२२ मत पाएकी थिइन् । त्यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह २० हजार १७ मत ल्याएर निर्वाचित भएका थिए । 

रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये राप्रपा नेपालले सरोज कुमारी (३५३ मत) लाई उम्मेदवार बनाएको थियो भने कोशिला देवी (१७ मत) ले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । त्यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर निर्वाचित भए । 

रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यका लागि १३ जनाको उम्मेदवारी पर्दा महिलाको संख्या शून्य थियो । त्यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार किरण कुमार साह ३२ हजार ८४२ मत ल्याएर विजयी हासिल गरेका थिए । 
रौतहट–३ बाट १९ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिला उम्मेदवार एकजना पनि थिएनन् । त्यहाँबाट नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह ३२ हजार ४३७ मत ल्याएर निर्वाचित भएका थिए । 

रौतहट–४ मा १८ जनाको उम्मेदवारी पर्दा नेकपा (माक्र्सवादी लेनीनवादी)ले अनवरी खाँ –९५० मत)लाई उम्मेदवार बनाउँदा ईश्वरी कार्की काफ्ले (४७ मत) ले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । त्यस क्षेत्रबाट नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले ३४ हजार १६१ मत ल्याएर निर्वाचित भएका थिए । 

बाराको निर्वाचन क्षेत्र नम्बर–१ बाट १७ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिला उम्मेदवार एकजना पनि थिएनन् । त्यस क्षेत्रबाट नेकपा एमालेका अच्युत प्रसाद मैनाली ३९ हजार १९५ मत ल्याएर निर्वाचित भए । 
बारा–२ बाट २१ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवारको संख्या शून्य थियो । त्यहाँबाट जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८२२ मत ल्याएर विजयी भए । 

बारा–३ बाट १८ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिलातर्फ नेकपा एमालेले ज्वाला कुमारी साह र जनमत पार्टीले राधिका देवी साहलाई उम्मेदवार बनाएको थियो । ज्वालाले २० हजार २५१ मत ल्याएर चुनाव जित्दा राधिकाले ३ हजार ३३१ मत मात्र ल्याउन सकिन् । 
बारा–४ बाट २० जनाको उम्मेदवारी पर्दा महिलाको संख्या शून्य थियो । त्यहाँबाट नेकपा एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ ३० हजार ३४१ मत ल्याएर निर्वाचित भए । 

पर्सा–१ मा २१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये महिला उम्मेदवारको संख्या शून्य थियो । त्यहाँबाट जसपाका प्रदीप यादव २२ हजार ५३७ मत ल्याएर निर्वाचित भएका थिए । 

पर्सा–२ बाट ११ जनाको उम्म्ेदवारी पर्दा महिला उम्मेदवार एकजना पनि थिएनन् । त्यहाँबाट नेपाली कांग्रेसका अजय कुमार चौरसिया २८ हजार ४५१ म्त ल्याएर निर्वाचित भए । 

पर्सा–३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या शून्य थियो । त्यस क्षेत्रबाट नेकपा एमालेका राजकुमार गुप्ताले २४ हजार ३१९ मत ल्याएर जित हासिल गरेका थिए । 

त्यस्तै, पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा १० जनाले उम्मेदवारी दर्ता गराउँदा महिला उम्मेदवार एकजना पनि थिएनन् । त्यहाँबाट नेपाली कांग्रेसका रमेश रिजाल ३१ हजार २२४ मत ल्याएर निर्वाचित भए ।

  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १६:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया