सभागृह भत्काएर व्यापारिक कम्प्लेक्स निर्माण : सम्झौता भएको एक वर्षमा पनि सुरु भएन काम

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका–४ मा रहेको वासुदेव सभागृह भत्काएर व्यापारिक कम्प्लेक्स बनाउन सम्झौता गरेको मंगलबार एक वर्ष पूरा भयो ।

गत वर्ष २० मंसिर अर्थात् आजभन्दा ठीक एक वर्षअघि तत्कालीन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले लामा–रसुवा–बानियाँ निर्माण सेवासँग तीन वर्षीय सम्झौता गरेका थिए । निवर्तमान मेयरको कार्यकाल वैशाखमा नै सकियो । स्थानीय सरकार परिवर्तन भए । सरकार परिवर्तन भए पनि वहुवर्षिय योजनाको रूपमा अघि बढाइएका कामहरूलाई निरन्तरता दिने गरिन्छ । तर, हेटौंडा उपमहानगरपालिकाले उक्त सभागृहको प्राङ्गणबाट रहेको राजा वीरेन्द्रको सालिकलाई स्थानान्तरण गर्न विलम्ब गर्दा निर्माण सम्झौताको १ वर्ष पूरा हुँदा समेत कुनै पनि काम अगाडि बढ्न सकेको छैन । बरु भइरहेको ऐतिहासिक धरोहरको भग्नावशेषले भने हेटौंडा बजारको सौन्दर्यमा नै खलल पुर्याइरहेको छ । 

हेटौंडा उपमहानगरपालिकाले तीन वर्षीय आयोजनाको रूपमा अघि सारेर १ वर्ष अगाडि नै सम्झौता गरेको योजनाको काम वर्ष दिन बित्दा हालसम्म १ प्रतिशत पनि काम हुन नसकेको हो । निर्माणका लागि ठेक्का पाएको कम्पनीले ल्याएको स्काभेटरसमेत बेवारिस अवस्थामा थन्किएको छ ।  

ऐतिहासिक वासुदेव सभागृहको भवन निर्माण गर्न २०६० सालमा तत्कालीन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण सुरु गरेको सभागृह सम्पन्न नहुँदै नयाँ व्यापारिक भवन बनाउने उद्देश्यले भत्काइएको थियो । काम सुरु गर्नका लागि ऐतिहासिक सभा गृह भत्काएर त मासियो । तर यसलाई मासेर बनाइने भनिएको व्यापारिक कम्प्लेक्सको काम पनि अघि बढ्न सकेन ।

१३ तले नयाँ भवन बनाएर भवनमा दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइटा भर्‍याङ, टपमा भ्यूटावर, शपिङ पसल, अफिस, रेष्टुरेण्ट, गेमिङ जोनलगायत सुविधा हुने बताइएको छ । भवन निर्माण गर्न ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको एक वर्ष बितेको छ । तर, काम भने सुरु पनि हुन सकेकै छैन ।

यता, नगर विकास समितिको नाममा रहेको हुप्रचौर परिसरमा निर्माण भएको ऐतिहासिक, कलात्मक तथा पुरातात्त्विक महत्व बोकेका नेपालका राजाको सालिक नै भत्काउने गरी भवन निर्माणको कार्य अघि बढेकाले सालिक संरक्षण र सुरक्षाका लागि आवश्यक पहल गरिदिन राप्रपा निकट नेताहरूको समूहले पटकपटक सरोकारवाला निकायलाई माग गर्दै आइरहेका छन् ।



राजनीतिक खिचातानीकान कारण भवन निर्माणको काम सुरु नसकेको जानकारहरू बताउँछन् । यता ठेक्का पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर भने भवन बनाउन नपाएको भन्दा पनि बनाउन नदिइएको बताउँछन् । यसले गर्दा काम नसकि छुटकारा पनि नपाइने र काम गर्नको लागि सम्बन्धित पक्षहरूले बाटो पनि खुल्ला नगरिदिएको कारण सुरु गर्नै नपाएको बानियाँ निर्माण सेवाका प्रोजेक्ट म्यानेजर आदित्य ठाकुर गुनासो गर्छन् । 

‘सभा गृह प्राङ्गणमा रहेको राजा वीरेन्द्र शाहको सालिक सार्नको लागि हामीले हेटौंडा उपमहानगरपालिकालाई पाँचपटक निवेदन लेखिसक्यौँ,’ ठाकुरले भने, ‘न सार्नको लागि पहल भएको नत भत्काउनको लागि अनुमति पाइन्छ । हामीले हाम्रा कर्मचारीलाई काम नभए पनि मासिक तलब दिएर राख्नु परेको छ । तीन वर्षको योजना छ । अहिले काम गर्न ढिलो हुने बित्तिकै अबको दुई वर्षमा चापाचाप काम गरेर भए पनि सकाउन पर्ने हुन्छ ।’ उनका अनुसार निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्ने अनुकूलता नपाएकै कारण काम गर्न पाएका छैनन् । 



सभा गृह अगाडि रहेको राजा वीरेन्द्रको सालिक भत्काउन नहुने एक पक्षको अडान र त्यसलाई स्थानान्तरण गरेर सुरक्षित गर्ने पहलमा उपमहानगरपालिका चुकेकै कारण १ वर्षसम्म पनि काम अघि बढाउन नसकिएको बताइए पनि यसतर्फ स्थानीय सरकार फेरिएसँगै चासोको विषयले हेर्न छोडिएको गुनासो बढेको छ । त्यसो त, अघिल्लो सरकारको योजनालाई गौरवको योजनाको रूपमा राखेर सोही भवन निर्माणका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । यसअघि विभिन्न कारणले निर्माणमा अवरोध आए पनि अबको केही दिनमा जसरी पनि यो विषयको ठोस निष्कर्ष निकाल्ने तयारीमा स्थानीय सरकार रहेको न्यौपानेले दाबी गरेका छन् । 

काममा तदारुकता देखाउन नसक्दा भएको ऐतिहासिक संरचनाको पनि क्षति भएको र नयाँ संरचना पनि बनाउन नसकिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

तीनवटा लामा–रसुवा–बानियाँ निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का लिए पनि यसको सम्पूर्ण जिम्मेवारी भने मकवानपुरकै बानियाँ निर्माण सेवा कम्पनीले लिएको हो । यद्यपि स्वर्गीय वीरेन्द्र राजाको सालिक भत्काउने कि अन्यत्र स्थानान्तरण गर्ने भन्ने कुराको ठोस निर्णय हुन नसक्नु नै काम सुरु गर्न नपाउनुको मुख्य कारण रहेको हो ।

जीर्ण सालिकलाई अन्यत्र सार्न मुस्किल हुने हेटौंडा उपमहानगरपालिकाको अभिव्यक्ति छ भने केही राजनीतिक दलहरूले सालिक जस्ताको त्यस्तै राख्न ध्यानाकर्षण गराइरहेका छन् । 

  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १३:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया