सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गर्ने भएको छ । सरकारले मदिरा, मोबाइल, मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए । मुख्यसचिवको संयोजकत्वमा गठित समितिले आयातमा बन्देज खुलाउन सिफारिस गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले आयात खुला गर्ने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए ।
विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले गत १३ वैशाखमा १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो । आयात प्रतिबन्धको अवधि यही मंसिर २९ गतेसम्म थियो ।
प्रतिबन्ध खुला भएसँगै पुस १ गतेदेखि सबै प्रकारका विदेशी तयारी मदिरा र तीन सय डलरमाथिका मोबाइल फोन, चारपाङ्ग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल आयात गर्न पाइनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।