नदीलाई पुरानै स्थानबाट बगाउन भारत सहमत, पक्की संरचनाको काम रोक्ने

दार्चुलामा महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतले निर्माण गरिरहेको पक्की संरचनाको काम तत्काल रोकिने भएको छ । बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीहरूको छलफलमा भारत आफ्नो अघिल्लो कदमबाट पछि हट्न सहमत भएको हो ।

सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा पेचिलो बन्दै गइरहेको तटबन्ध विवादलाई निकास दिन बुधबार नेपाल–भारत समन्वय समितिको बैठक भारतमै बसेको थियो । उक्त बैठकमा पनि भारतीय सुरक्षा अधिकारीले सुरुमा भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । 

नेपाली सुरक्षा अधिकारीले त्यहाँ विवाद रहेको र नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नु पर्ने अडान लिएका थिए । बैठकमा भइरहेको काम रोक्ने मात्रै होइन, नेपालतर्फ महाकाली धकेल्ने गरी तयार गरिएका संरचना हटाउन पनि भारत सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

उनका अनुसार महाकालीलाई पुरानै बहावमा बगाउने गरी ती संरचना हटाइन लागेका हुन् । ‘अहिलेलाई भइरहेको काम रोक्ने र महाकाली धकेल्ने गरी तयार गरिएको संरचना हटाउने कुरामा भारतीय पक्ष सहमत भएका छन्’ प्रजिअ उपाध्यायले भने, ‘त्यसका लागि १० दिनको समय निर्धारण गरिएको छ ।’

यसअघि मंगलबार भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए । आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका स्थानीय विरोध तथा प्रतिरोधमा उत्रिएका थिए । 

विरोध विवादमा परिणत हुँदा झडप भएको र ४ जना घाइते समेत भएका थिए । सोमबार दार्चुलामै आएका भारतीय सुरक्षा अधिकारीहरूले काम रोक्न सहमत भएको जनाएका थिए । 



नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएपछि  नेपाली प्रशासन र भारतको स्थानीय प्रशासनबीच बुधबार छलफल भई सो निष्कर्ष निकालिएको हो । 



  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १९:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया