समानुपातिक सांसदको टुंगो लगाउन दलहरूलाई सकस, आज यी पार्टीको बस्दैछ बैठक

निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिन लाग्दा दलहरू त्यसको तयारी गरिरहेका छन् । सांसदको टुङ्गो लगाउन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपालगायतका पार्टीले आज पार्टीको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर छलफल गर्दैछ । निर्वाचनपछि पहिलोपटक कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ। 

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पनि बस्दैछ । समानुपातिक सांसदको नाम चयनबारे बैठकमा छलफल हुन लागेको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए । बैठकमा मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने विषयमा छलफल हुने बताइएको छ। 

समानुपातिक सांसदको  नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पनि बस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची टुंगो नलगाइ सकिएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो । 

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी कार्यालयमा अहिले केहीबेरमा बस्नदे बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गरिने  भएको हो। जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने यसअघि नै समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । समानुपातिक सांसद पाउने अन्य पार्टीहरुले पनि आजै छलफल गर्दैछन् ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार ९:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया