विश्वकपमा राम्रो लयमा प्रदर्शन गरिरहेको पोर्चुगलमा केही दिन यता तनाब बढेको छ । स्विट्जरल्याण्डविरुद्धको खेलमा नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बेन्चमा राखिएपछि बढेको यो तनाव तत्काल समाधान हुन सक्ने देखिँदैन ।
रोनाल्डोको स्थानमा आएका गोन्कालो रामोसले ह्याट्रिक गरेपछि आज हुने मोरक्कोसँगको खेलमा पनि रोनाल्डो बेन्चमा हुने सम्भावना बढेको छ ।
त्यसमाथि रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोषबीचको सम्बन्ध थप चिसिएको छ ।
अल थुमामा रंगशालामा पोर्चुगलले मोरक्कोको सामना गर्ने तय भएको छ ।
नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने यो खेलमा दुवै टिमले अहिलेसम्म अत्यन्त राम्रो प्रदर्शन गरेका छन् । दुवै टिम फर्ममा रहेको यसअघिका खेलबाट पुष्टि भइसकेको छ ।
पोर्चुगलले यो विश्वकपमा अत्यन्त राम्रो गरेको छ भने मोरक्कोले पहिलो पटक क्वाटरफाइनलबाट अगाडिको यात्रा तय गर्ने योजना बनाएको छ ।
कतारको अल थुमामा स्टेडियममा हुने यो खेल निकै रोमान्चक हुनेछ । यस्तो किन पनि भने यी दुई टिमको विगतबारे धेरै अनुमान गर्न सकिने छैन । दुवै टिमले यसअघि २ खेल मात्र खेलेका छन् । अनि यी दुवै खेल विश्वकपमा नै भएका हुन् ।
विश्वकपमा भएका दुई खेलमा एकपटक मोरक्कोले जितेको छ भने एकपटक पोर्चुगलले जितेको छ ।
यसपटकको विश्वकपमा बेल्जियमलाई हराएर यात्रा सुरु गरेको मोरक्कोले स्पेनलाई पनि विश्वकपबाट बाहिर पठाएको हो । यो विश्वकपमा मोरक्कोले अहिलेसम्म एउटा खेल पनि हारेको छैन ।
त्यसैले पोर्चुगलका लागि आज ठूलो चुनौैति बन्न सक्छ, मोरक्को ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।