मधेस प्रदेश सभामा १० दलको प्रतिनिधित्व
फाइल तस्बिर

मधेस प्रदेश सभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो । 

कुल एक सय सात सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको हो ।

मधेस प्रदेशमा प्रत्यक्षतर्फ १५ सिट जितेर पहिलो दल बनेको एमालेले समानुपातिकमा आठ सिट थपेर २३ सिट पुर्याएको छ भने प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ नौ सिट थपेर २२ सिट पुर्याएर दोस्रो दल बनेको छ ।

विसं. २०७४ को निर्वाचनमा मधेस प्रदेश सभामा पहिलो दल बनेको जसपा यस पालि प्रदेशसभामा तेस्रो दलमा सीमित भएको छ । जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।

डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ सिट र समानुपातिकमा सात गरी १३ सिटसहित मधेस प्रदेशसभामा चौथो दलका रूपमा स्थापित भएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पाँचौँ दल बनेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको लोसपाले समानुपातिकमा दुई सिट थप्दै नौ सिट पुर्याएको छ ।
 
सङ्घीय संसद्मा तेस्रो शक्ति बनेको माओवादी केन्द्र भने मधेस प्रदेशमा छैटौँ बनेको छ । प्रत्यक्षतर्फ चार सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा पनि चार सिट नै पाएर छैटौँ दल बनेको हो । 

नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिटसहित सातौँ दल बन्दा राप्रपा, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक–एक सिट पाएर मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार २०:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया