कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा ‘गोल्डेन बुट’ दौडमा फ्रान्सका फरवार्ड ओलिभर जेरुड दोस्रो स्थानमा उक्लिएका छन् ।
आज बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डविरुद्ध एक गोल गरेसँगै उनी संयुक्तरूपमा दोस्रो स्थानमा उक्लिएका हुन् । योसँगै उनको गोल संख्या चार पुगेको छ ।
जेरुडले समूह चरणमा अस्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्याण्डिवरुद्ध एक गोल गरेका थिए । उनीसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि दोस्रो स्थानमा छन् ।
उनले समूह चरणमा साउदी अरेबिया र मेक्सिको अन्तिम १६ मा अस्ट्रेलिया तथा क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका हुन् । मेस्सीले दुई गोलका लागि असिस्ट पनि गरेका छन् ।
जारी विश्वकपमा गोल्डेन बुट दौडको शीर्ष स्थानमा भने फ्रान्सका स्ट्राइकर केलिएन एमबाप्पे छन् । उनले पाँच खेलमा पाँच गोल गरिसकेका छन् । साथै, एमबाप्पेले दुई गोलका लागि असिस्ट गरेका छन् ।
विश्वकप २०२२ मा उनी गोल्डेन बुटका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् । समूह चरणमा डेनमार्कविरुद्ध दुई र अस्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्याण्डविरुद्ध पनि दुई गोल गरेका थिए ।
इंग्ल्याण्डका मार्कस रासफोर्ड, इंग्ल्याण्डका बुकायो साका, नेदरल्याण्ड्सका कोडी गाक्पो, ब्राजिलका रिचार्लिसन, इक्वेडरका इनर भ्यालेन्सिया र स्पेनका अल्भारो मोराटा तेस्रो स्थानमा भए पनि टिम प्रतियोगिताबाट बाहिरिसकेकाले उनीहरू गोल्डेन बुट दौडबाट भने ‘आउट’ भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।