उद्योगी अरुण राठी ‘अपहरण’ घटनाः आफ्नै पार्टनरको ‘अपहरण’मा परेपछिको नालीबेली

आफैं सन्चालक रहेको मिडिया हाउस नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सन्चालक तथा उद्योगी अरुणकुमार राठीले केही दिन अघि प्रहरीमा यही मिडिया हाउसका अर्का सन्चालक सिराह ४ स्थायी घर भइ विराटनगर ६ बस्ने शहेन शाह भनिने अब्दुल खताबले आफूलाई अपहरण गरेर फिरौती मागेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

तर, प्रहरीले खताबलाई अहिलेसम्म पक्राउ गरेको छैन । उनलाई पक्राउ नगरेपछि विराटनगरका उद्योगी व्यवसायीहरुका विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।

नेकपा एमालेबाट प्रदेशसभाका लागि मोरङ ६ (२) का समानुपातिक उम्मेदवारसमेत रहेका राठीलाई खताबले पहिले सामाजिक सन्जालका लागि भिडियो बनाउने भन्दै भेट्न बोलाएर अपहरण गरेको राठीले दाबी गरेका छन् ।

यही विषयमा राठीले फरकधारसँग लामो कुराकानी गरेका छन् । उनले फरकधारसँग सुनाएको कुराकानीको सारसंक्षेपः

मेरो खताबसँग आजभन्दा दुई, साढे दुई वर्षअघि भेट भएको हो । त्यति बेला उनीसँग विज्ञापनको सिलसिलामा भेट भएको थियो । विराटनगरमा उनले नेपाल टाइम्स नामको मिडिया चलाएका थिए । त्यही मिडियामा विज्ञापन लिनका लागि उनी मसम्म आइपुगेका थिए ।

भेटघाटपछि सम्बन्ध राम्रै हुँदै गयो । उनी मिडिया चलाउनका लागि ठूलो आर्थिक समस्या पर्न थालेका थिए । त्यसपछि उनले मलाई पार्टनरसिप गरौँ भन्ने अफर लिएर आए ।



मिडियामा राम्रो फाइदा छ, तपाईंका धेरै प्रोडक्ट छन्, त्यसले पनि मार्केटिङको राम्रो अवसर पाउँछ भन्ने प्रलोभन मलाई देखाएका थिए । तर, उनको कम्पनीको हरहिसाब केही राम्रोसँग राखिएको थिएन । त्यसले गर्दा के कसरी लगानी गर्ने भन्ने समस्या पर्यो । अन्तिममा हामीले त्यो कम्पनीको भ्यालुएसन एक करोड गर्यौँ । हामीले त्यसमा २० प्रतिशत सेयर लिने भयौँ । २० प्रतिशत बराबरको रकम मैले खताबलाई दिएँ ।

योबीचमा हाम्रो सम्बन्ध त्यस्तो नराम्रो थिएन । उनको र मेरो परिवारको सम्बन्ध पारिवारिक जस्तै बनिसकेको थियो । म, मेरो भाइ र मेरो छोरासँगसमेत उनको राम्रो सम्बन्ध थियो । हाम्रा विभिन्न प्रोडक्ट तथा स्कुलहरुको भिडियो उनले बनाउने गरेका थिए ।



मिडिया आफ्नै हिसाबले चलिरहेको थियो, त्यसमा मैले त्यति धेरै चासो दिइरहेको थिइनँ । यसबीचमा स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भए । निर्वाचनको समयमा खताबकै आग्रहमा केही नेताहरुसँग मैले भेट गराइदिएको थिएँ । तर, मैले यसको अन्तर्वार्ता गरौँ, यसको नगरौँ लगायतका केही कुराहरु पनि गरेको थिइनँ ।

यसमा मैले लगानी गरेको भए पनि खासमा त्यस्तो धेरै चासो यसमा दिन्नथेँ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मलाई पनि नेकपा एमालेले प्रदेश सभामा समानुपातिकको सूचीमा राखेको थियो । निर्वाचन भएको केही दिनमै मलाई खताबले भने– तपाईं समानुपातिकमा पर्ने र सांसद हुने ९० पर्सेन्ट सियोर भइसक्यो, एउटा भिडियो बनाऔँ । उनले सूर्यका उदाउँदै गरेको पृष्ठभूमिमा भिडियो खिच्ने र त्यसलाई आफ्नै मिडियाबाट रिलिज गर्ने बताएका थिए । मैले केही दिनसम्म यसलाई बेवास्ता गरेँ । अन्तिममा गत साता मंगलबार मैले यसलाई स्वीकृति जनाएँ । उसले आफ्नै मिडियामा भिडियो हाल्दा त्यसबाट माइलेज राम्रो हुने र पछि मसँग समय नहुन सक्छ भन्दै छिटो यो भिडियो सुट गर्ने कुरा गरेको थियो ।

गत मंगलबार मैले ओके भनेँ । बुधबार विहान म मंगलबार नै सल्लाह भएअनुसार घरबाट निस्किन लागेको थियो, उसको फोन आयो । उसले गाडीमा पर्दैन, त्यहाँ नै त हो, स्कुटीमा जाऔँ भनेपछि म चिया पनि नखाइ घरबाट निस्किएको थिएँ । 

केही समयअघि मसँग पनि सल्लाह भएअनुसार यो मिडियाका लागि नयाँ कार्यालय हामीले बनाएका थियौँ । पाँच महिनाअघिबाट मिडियाको काम यहाँ नै गर्न थालेका थियौँ ।

नयाँ अफिसमा हामी पुग्यौँ, भिडियो छायांकन पनि भयो । त्यहाँ एउटा नवयुगसहितको नारा लेखिएको ब्यानर थियो, म केही परबाट हिँडेर त्यहाँ आएँ । दुईतीन पटकमा यो फुटेज छायांकन गरियो ।

त्यहाँ छायांकन भएपछि पुरानो अफिसको छतमा जाऔँ, त्यहाँ सूर्य उदाएको राम्रो सिन आउँछ भनेर उसले भन्यो । मलाई पुरानो अफिस त छोडिसकेको थियो कि भन्ने लागेको थियो । यसबारे म त्यति अपडेट थिइनँ ।

त्यहाँ हामीले छतमा सुुटिङ गर्यौँ । छायांकन सकिएपछि अब मेरो बोली रेकर्ड गर्ने भन्ने कुरा भयो । पुरानो अफिसको रेकर्डिङ रुममा हामी गयौँ, त्यहाँ एउटा काठको सिंगल सिटर सोफा थियो । म त्यही सोफामा बसेँ ।

मैले आफ्नो कुरा बोलिसकेको मात्र के थिएँ, त्यहाँ अर्को एक जना मान्छे पनि आयो । 

कोेठामा एउटा तार थियो, सोफाको छेउमा । तर, मैले त्यसलाई बेवास्ता गरेँ, पुरानो अफिस छोडिसक्दा त्यहाँ नै त्यो तार छोडेको होला भन्ने लाग्यो ।

मैले बोलिसकेको मात्र के थिएँ, खताबले इशारा गरेपछि त्यहाँ भएको त्यो अर्को मान्छेले सोफाको डिलमा मेरो हात बाँध्न थाल्यो । अनि मलाई हिन्दीमा भन्यो– चुपचाप लागेर बस्नु, जे गर्ने हो हामी गर्छौँ । मैले प्रतिकार गर्न खोजेको खण्डमा मलाई गोली हानिदिने पनि उसले धम्की दियो ।

म झसँग भएँ । अनि बल्ल मैले उसले मलाई भेटेदेखि बोकिरहेको झोला हेरेँ । त्यसमा रिभोल्भर पो छ कि भन्ने मलाई पर्यो । यो सोचले मलाई झन् झसँग बनायो ।

त्यहाँ मैले आफू उम्किएर भाग्न प्रयास गरेँ, भगवानहरु सबैलाई सम्झिएँ । अनि म भाग्न खोज्दा त्यहाँ ती दुई जना र मबीच घम्साघम्सी भयो । घम्साघम्सीमा म बजारिएँ । एकैछिन बेहोस जस्तो भएको महसुस भएको थियो ।

केही बेरमा नै उठेर म भाग्न खोजेको थिएँ । तर, फेरि घम्साघम्सी भयो । घम्साघम्सी हुँदा मेरो छाती सोफाको काठमा ठोक्कियो, त्यसपछि म डाउन भएँ ।

म लडेपछि उनीहरुले खुट्टाको सोफामा मेरा दुवै खुट्टा बाँधे, हात बाँधे र बीचमा छातीमा पनि पछाडि लगेर तारले बाँधे ।

त्यसपछि खताबले भन्यो– मेरो काम सकियो, अब मैले ह्यान्डओभर गर्ने हो, मेरो जिम्मेवारी यहाँसम्मको मात्रै थियो । उसले यति भनिसकेपछि म झन् चिसो भएँ, मनमा चस्को पस्यो ।

मैले झट्ट तुलसी अग्रवाल दाजुको अपहरणको कुरा सम्झिएँ, उहाँले भारतमा सेल गरेको विषयमा बताउनु भएको थियो । मेरो मनमा पनि अनेक कुरा खेल्न थाले । उहाँको प्रसंग सम्झिएँ पनि मैले माइन्ड मेकअप गरेँ– यो कुरालाई यहाँ नै मैले टुंग्याउनु पर्छ । यस्तो किन पनि भने मलाई यहाँबाट मलाई भारत पठायो भने फिर्ता आउन सक्ने सम्भावना कम हुन्छ भन्ने लागेको थियो ।

अनि मैले भने– जे लिनुपर्छ, यहाँ नै लिनु ।

त्यति बेला खताब बाहिर जाँदै आउँदै गरिरहेको थियो । ऊ अरु कोहीसँग बारम्बार फोनमा कुरा पनि गरिरहेको थियो । उसले नेपालीमा नै फोनमा कुरा गरिरहेको सुनेर मैले यसमा अरु पनि संलग्न रहेछन् भन्ने अनुमान गरिसकेको थिएँ ।

त्यसपछि उसले आफूले किन्न लागेको गाडीको लोनमा पनि मैले साइन नगरेको भन्ने प्रसंग निकाल्यो । मैले आफूले छोरालाई त गाडी नदिएको प्रसंग निकालेँ । अनि मैले भनेँ– यो त तपाईंकै खर्च नबढोस् भनेर पो मैले गरेको हो, पछि नेपाल टाइम्सबाट नै कमाएर तपाईंले जे किने पनि त भयो ।

उसले गाडीको लोन गर्न लागेको प्रसंग डेढ दुई महिना अघिको हो । उसले पहिले मेरो छोरासँग यो प्रस्ताव गरेको थियो, मैले छोरालाई गर्न नहुने बताएको थिएँ । पछि मसँगको प्रस्ताव पनि मैले इन्कार गरेको थिएँ । उसले निकाल्ने गाडीको लोनमा हामीले साइन गर्ने र उसले नै त्यसको मासिक किस्ता तिर्ने प्रस्ताव ल्याएको थियो ।

त्यहाँ मैले तत्काल बुद्धि पुर्याएर उसलाई भनेँ– मैले घरमा नेपाल टाइम्सको अफिसमा खताबजीसँग जान्छु भनेर आएको छु, त्यसैले मलाई भोलि केही भयो र तेस्रो कोही मान्छे भएको ठाउँमा पठायौ भने तिमी नै फस्छौँ, तिमीले जोसँग कुरा गरिरहेका छौँ, उसलाई क्याप्चर गर्न सकिनँ भन तिमीलाई जे चाहिन्छ यहाँ नै लिनू ।

ऊ फेरि फोनमा कुरा गर्दै बाहिर निस्कियो । भित्र आएपछि मैले फेरि भनेँ– तिमीलाई यहाँ जे लिनु छ, यहाँ नै लिनु ।

उसले हिन्दीमा सोध्यो– कित्ना दिएँगे आप ?

मैले आफूसँग धेरै पैसा नभएको बताएँ । अनि भनेँ– मेरो एकाउन्टमा अहिले १५ लाख रुपैयाँ छ, म त्यो तत्काल दिन सक्छु । उसले कुनै जवाफ दिएन । 

केहीबेरमा उसले एक करोडको डिमान्ड गर्यो ।

मसँग त्यति पैसा नभएको मैले बताएँ । अनि मैले उसलाई अहिले तत्काल मैले १५ लाख दिन सक्ने र अर्को १५ लाख एक सातामा दिन सक्छु भनेँ । मैले सापटी मागेर भए पनि यो रकम दिन्छु भनेको थिएँ । 

उसले मान्यो । अनि उसले मलाई बाँधेको तार त्यो अर्को मान्छेलाई खोल्न लगायो । पछि थाहा भयो, त्यो अर्को मान्छे उसको ड्राइभर रहेछ । मलाई स्कुटीमा पिकअप गरेपछि उसको गाडी हामी पछाडि पछाडि आएको रहेछ ।

मैले एक सातामा अर्को १५ लाख दिन्छु भनेपछि ऊ अलिक विश्वस्त भयो । मलाई बाँधिएको तार खोलियो, ती दुवैजना मिलेर मलाई अर्को कोठामा लगे ।

अनि त्यहाँ उसले भन्यो– तपाईं कुल हुनुहोस् ।

अनि थप्यो– आप त निडर आद्मी है, लेकिन यो बात आप्नी वाइफको भी नबोले । आप निडर आद्मी है ।

त्यहाँ केही बेर बसेपछि उसले मलाई फेरि नेपाल टाइम्सको नयाँ अफिसमा लग्यो । त्यहाँ उसले मलाई चेक मगाउन लगायो । यसअघि नै उसले आफूले नेपाल टाइम्सको नाममा चेक लिने बताएको थियो । 

मैले मेरो चालकलाई फोन गरेँ, मेरो ड्रअरमा भएको चेक लिएर आउन लगाएँ । 

मेरो गाडी आइसके पछि हामी बाहिर निस्कियौँ, मैले गाडीमा बसेर नै नेपाल टाइम्सको नाममा १५ लाखको चेक काटेँ । त्यहाँबाट निस्किएर म सोझै घर गएँ । आराम गर्छु भनेर पल्टिएँ ।

त्यो दिन मेरो भाइ एउटा पारिवारिक काममा भारत गएको थियो । ऊ दुई दिनपछि आयो । दुई दिनसम्म मैले यो कुरा बाहिर कसैलाई भनेको थिइनँ । आफ्नो मोबाइल र इन्टरनेट कनेक्सनसमेत बन्द गरेर म बसेको थिएँ । 

भाइ आएपछि ऊ र यहाँका केही साथीभाइसँग मैले सल्लाह गरेँ । खताबले यहीबीचमा पनि मलाई फोन गरेर यो कुरा बाहिर ल्याए नराम्रो हुने चेतावनी दिइरहेको थियो । भाइ र साथीभाइसँगको सरसल्लाहपछि मैले प्रहरीमा खताबविरुद्ध किटानी जाहेरी दिएको छु । मलाई विश्वास छ, नेपालको कानुनले ममाथि न्याय गर्नेछ ।

  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २२:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया