महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रमुख–११ र प्रमुख प्रशासकीय अधिकृत–११ बीच मैत्रीपूर्ण फुटबल खेल भएको हो ।
खेलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको जनप्रतिनिधिको टिम प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वको टिमसँग ६–१ गोल अनतरले पराजित भयो ।
प्रमुख–११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिको आवद्धता थियो । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरी थिए ।
जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर शाह खेलको दोस्रो हाफपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गर्दासम्म प्रमुख–११ टिमले ५ गोल बेहोरिसकेको थियो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताइन् । उनले खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आइसब्रेक गर्ने काम गरेको बताइन् ।
महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।