नेकपा एमालेका नेता पर्शुराम बस्नेतले आफूले निर्वाचनमा पराजय भोग्न परे पनि जनताको कामबाट पछाडि नहट्ने बताएका छन् ।
निर्वाचनको नतिजा आएको केही दिनपछि नै उनी मतदाताहरुलाई धन्यवाद दिँदै मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का टोलटोलमा पुगेका छन् । उनी मोरङ क्षेत्र नम्बर ६ खबाट प्रदेशसभा उम्मेदवार थिए । त्यहाँ उनलाई झिनो मतान्तरले नेपाली कांग्रेसका केदार कार्कीले पराजित गरेका हुन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ६ मा सोमबार आयोजित एक कार्यक्रममा पुगेका बस्नेतले आफू पहिले पनि जनताको सेवक रहेको र अब पनि जनताको सेवा गरेरै अगाडि बढ्ने बताएका छन् । ‘निर्वाचित जनप्रतिनिधिहरुलाई हामीले जनताप्रति उत्तरदायी हुन खबरदारी गरिरहनु पर्छ,’ बस्नेतले भने, ‘म सधैं तपाईंहरुको माझमा नै रहनेछु, यसअघि मैले गरेका वाचाहरुलाई पूरा गर्न हरप्रयास गर्नेछु ।’
उनले कार्यक्रममा अहिलेको सरकारको विरोध गर्न पनि भ्याए । रेशम चौधरीलगायतलाई छुटाउन सहज हुने गरि सरकारले ल्याउन लागेको अध्यादेशबाट राजनीतिमा अपराध सँस्थागत हुने परिपाटीको विकास हुने भन्दै बस्नेतले यसको विरोध जनस्तरबाटसमेत गरिनु पर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।