विराटनगर महानगरमा कर संकलन अयिभान सञ्चालन

विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ््नुका साथै कर संकलन अभियान सुरु  गरेको छ । 

आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे । 

चालू आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान सुरु गरेको हो । विराटनगर–४ स्थित ढाटबाट महानगरका मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियान सुरु गरिएको छ । 

अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास र फोहोर संकलनबारे हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । 

सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो । ‘महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ, त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,’ उनले भने, ‘आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौँ । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।’ 

उनले जनताबाट संकलित राजस्व एक पैसा पनि तल–माथि हुन नदिने प्रस्ट्याए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढेको उनले बताए । 



कर संकलन नभएसम्म जनताको अपेक्षाअनुसार विकास निर्माण हुन नसकेको मेयर कोइरालाले बताए । उठ्नुपर्ने कर नउठेका कारण महानगरका तर्फबाट जनतालाई दिइनुपर्ने सेवा सुविधा दिन नसकेको उनले उल्लेख गरे । ‘बैंकिङ कारोबारका लागि मात्रै व्यवसायी करको दायरामा आएको पाइयो,’ उनले थपे,‘अब सबैलाई करको दायरामा आउँछौँ । खाली हामी कर मात्रै संकलन गर्दैनौँ उठेको करलाई विकास निर्माणमा लगाउँछौँ,’ मेयर कोइरालाले उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।
 
उपमेयर कार्कीले अभियानअन्तर्गत जनताका समस्या पनि बुझ्ने जानकारी दिइन् । उनले खानेपानी, सरसफाइ, विद्युतलगायता समस्या बुझ्ने र सम्भव भएसम्म तत्काल सम्बोधन गर्ने बताइन् ।

गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालू आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।



  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १८:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया