प्रतिनिधिसभामा निर्वाचित सांसदको विवरण राष्ट्रपतिसमक्ष पेस

निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सांसदको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार बिहान राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरिएको आयोगले जनाएको छ ।

देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी २ पुसमा एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने कार्यक्रम रहेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । 

निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ८९ सिट जितेको छ । त्यस्तै, नेकपा एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ले ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी) ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएको थियो ।

२७५ सिट रहेको प्रतिनिधिसभामा कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रूपमा उदाएको छ । नयाँ शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ ।



निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धरौटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ ।

त्यस्तै, प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेशसभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ ।



समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव  ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव  शून्य ६ प्रतिशत मत भने बदर भएको उनको भनाइ छ ।

त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव  ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको  र ५ दशमलव  शून्य ९ प्रतिशत मत बदर भएको छ । प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव  ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव  शून्य ७ प्रतिशत मत बदर भएको बताइएको छ ।

प्रदेशसभाको समानुपातिक तर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव   ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव  ५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ११:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया