नेपाल एयरलाइन्सको नियमित उडान पुनः सञ्चालन

विमान परिचारिका ‘क्याबिन क्रु’को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनः सञ्चालन भएको छ ।
      
दुईजना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ ।

निगम व्यवस्थापन र क्याबिन क्रु संघबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन ।

‘हिजो दिउँसोदेखि नै उडान अवरुद्ध भएको थियो, निर्धारित उडान राति मात्रै भएको थियो । आज बिहानैदेखि उडान हुनसकेको थिएन । सहमतिपछि केहीबेर अघिबाट उडान सञ्चालन भएको छ,’ प्रवक्ता खड्काले भनिन् । 

राति ८ बजेपछि भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।

निगममा कार्यरत सबै क्याबिन क्रु को करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् । करारमा रहेर १५ वर्ष सेवा गरेका दुईजना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई विनाकारण करार नवीकरण नगरी सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए । 

नेपाल वायुसेवा क्याबिन क्रु संघले विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २२:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया