फिफा विश्वकपमा ‘गोल्डेन बुट’ जित्ने ११ खेलाडी

फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ ।  फुटबल विश्वकप सन् १९३० बाट सुरु भएपनि गोल्डेन बुट अवार्ड भने १९८२ बाट प्रदान गरिन थालिएको हो । यद्यपि २०१० सम्म भने यो अवार्डको नाम ‘गोल्डेन सुज’ थियो ।  

सन् १९३० को पहिलो संस्करणको विश्वकपमा अर्जेन्टिनाका गुइलेर्मो स्टेबिल, १९३४ मा चेकोस्लोभाकियाका ओल्डरिच नेजेडली, १९३८ मा ब्राजिलका लियोनिडास, १९५० मा ब्राजिलकै एडिमिर, १९५४ मा हंगेरीका स्यान्ड्रो कोक्सिस, १९५८ मा फ्रान्सका जस्ट फन्टेन सर्वाधिक गोलकर्ता रहेका थिए । 

यस्तै, १९६२ को विश्वकपमा हंगेरिका फ्लोरियन अल्बर्ट, सोभियत संघका भ्यालेन्टिन इवानोभ, ब्राजिलका गारिन्चा र भाभा, युगोस्लाभियाका डर्जन डेर्कोभिच र चिलीका लियोनेल सान्चेज संयुक्तरूपमा सर्वाधिक गोलकर्ता बने । १९६६ मा पोर्चुगलका युसेबियो, १९७० मा जर्मनीक गर्ड मुलर, १९७४ मा पोल्याण्डका र्जेगोर्ज लाटो र १९७८ मा अर्जेन्टिनाका मारियो केम्पेसले सर्वाधिक गोल गरेका थिए ।    

विश्वकप फुटबल इतिहासमा आधिकारिक रूपमा पहिलो गोल्डेन बुट (पहिले गोल्डेन सुज) प्राप्त गर्ने खेलाडी इटालीका पाउलो रोसी हुन् । उनले सन् १९८२ को विश्वपकपमा सो अवार्ड प्राप्त गरेका थिए । स्पेनमा भएको उक्त विश्वकपमा इटालीलाई विजेता बनाउन उनको भूमिका अहम् थियो । सो विश्वकपमा उनले ६ गोल गरे । 

पाउलोले उक्त विश्वकपमा गोल्डेन सुजका साथै गोल्डेन बल पनि हात पारे । उनी गोल्डेन बल प्राप्त गर्ने पनि पहिलो खेलाडी नै बने । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डका ग्यारी लिन्करले गोल्डन सुज अवार्ड जिते । 

मेक्सिकोमा भएको सो विश्वपमा इंग्ल्याण्ड क्वार्टरफाइनबाटै बाहिरियो । यद्यपि लिन्करले ६ गोल गरे । यस्तै, इटालीका साल्भाटोर शिलाचीले १९९० को विश्वकपमा गोल्डेन सुज जितेका थिए । 



घरेलु मैदानमा भएको सो विश्वकपमा इटाली तेस्रो भयो । टिमले उपाधि नजिते पनि ६ गोल गरेका शिलाचीले गोल्डेन सुज अवार्ड हात पारे । 

साथै, विश्वकप १९९० मा उनले गोल्डेन बल पनि प्राप्त गरे । सन् १९९४ को विश्वकपमा रुसका ओलेग सालेन्को र बुल्गेरियाका हरिस्टो स्टोइचकोभलाई संयुक्तरूपमा गोल्डेन सुज दिइयो । अमेरिकामा भएको उक्त विश्वकपमा दुवैले ६/६ गोल गरेका थिए । 



सन् १९९८ को विश्वकपमा क्रोएसियाका डाभोर सुकरले गोल्डेन सुज अवार्ड जिते । फ्रान्समा भएको विश्वकपमा उनले ६ गोल गरेका थिए । १६ औं संस्करणको विश्वकपमा रुस तेस्रो भएको थियो । १७ औं संस्करणको विश्वकप दक्षिण कोरिया र जापानमा भएको थियो । सो विश्वकपमा ब्राजिलका रोनाल्डोले शानदार प्रदर्शन गरे । सन् २००२ मा भएको उक्त विश्वकपमा ब्राजिललाई उपाधि दिलाउने क्रममा उनको भूमिका प्रमुख रह्यो ।

प्रतियोगितामा ८ गोल गरेका उनले गोल्डेन सुज अवार्ड जिते । २००६ को विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले गोल्डेन सुज जिते । घरेलु मैदानमा आयोजित यो विश्वपमा टोलीले तेस्रो स्थान हासिल गर्दा उनले ५ गोल गरेका थिए । 

सन् २०१० को विश्वकपमा पनि जर्मनीका थोमस मुलरले गोल्डेन बुट अवार्ड जिते । यही संस्करणबाट फिफाले गोल्डेन सुजको नाम परिवर्तन गरी गोल्डेन बुट राखेको हो । दक्षिण अफ्रिकामा आयोजित २० औं संस्करणको विश्वकपमा उनीसहित उरुग्वेका डिएगो फर्लान, नेदरल्याण्ड्सका विस्ले स्नाइडर र स्पेनका डेविड भियाले पाँच/पाँच गोल गरेका थिए । 

यो विश्वकपमा असिस्ट बढी गरेको आधारमा मुलरलाई गोल्डेन बुट प्रदान गरिएको थियो । सन् २०१४ को विश्वकपमा कोलम्बियाका जेम्स रोड्रिग्वेजलाई गोल्डेन बुट प्रदान गरियो । ब्राजिलमा आयोजित यो विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलबाटै बाहिरिए पनि उनले ६ गोल गरेका थिए । 

सन् २०१८ को विश्वकपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट अवार्ड जिते । रुसमा भएको सो विश्वकपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन अहम् भूमिका खेलेका उनले ६ गोल गरेका थिए । 

जारी विश्वकपमा केनले दुई गोल गर्दा तीन असिस्ट गरेका थिए । उनी सेमिफाइनलमा फ्रान्सविरुद्ध पेनाल्टीमा चुक्दा इंग्ल्याण्डको फाइनल यात्रा सकिएको थियो । कतारमा जारी २२ औं संस्करणको विश्वकपमा गोल्डेन बुट र बल जित्ने होडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सबैभन्दा अगाडि छन् ।

फाइनल खेल्नुअघि उनले ६ म्याच खेल्दा ५ गोल गरेका छन् । उनले तीन खेलमा असिस्ट गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पे छन् । उनले ६ खेलमा ५ गोल र दुई असिस्ट गरेका छन् । 

अब गोल्डेन बुट र बल जित्ने खेलाडीको टुंगो आइतबार हुने फाइनलले लगाउने देखिन्छ । हालसम्म मेस्सी र एमबाप्पेले गोल्डेन बुड हात पार्न सकेका छैनन् ।

मेस्सीले यसअघि गोल्डेन बल अवार्ड भने जितिसकेका छन् । उनले २०१४ को विश्वकपमा गोल्डेन बल प्राप्त गरेका थिए । यसपालि मेस्सी दुवै अवार्डको दौडमा शीर्ष स्थानमा छन् । 

  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १२:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया