इरानले फुटबल खेलाडीलाई मृत्युदण्डको फैसला सुनाएको छ । गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा सहभागी भएको आरोपमा २६ वर्षीय फुटबलर अमिर नसर-अजदानीलाई मृत्युदण्डको फैसला सुनाइएको हो ।
नोभेम्बरमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक जनप्रदर्शन भएका थिए । बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई कोट गर्दै २६ वर्षीय अमिर नसर-अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको दाबी गरेको छ ।
हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो । पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानभर प्रदर्शन भएको थियो ।
सोही क्रममा केही प्रहरीका सहयोगीको समेत मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी १६ नोभेम्बरमा पक्राउ परेका थिए । उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप लागेको थियो । जसको सजाय स्वरूप उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
नेदरल्याण्ड्समा रहेको अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफप्रो) ले एक वक्तव्य निकाल्दै इरानको यो कदमको कडा आलोचना गरेको छ । उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ ।
अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्र्याक्टरबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २०१७ यता भने उनी व्यावसायिक खेलमा देखिएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।