देउवालाई प्रचण्डले भने– म प्रधानमन्त्री बन्छु
फरकधार / २ पुस, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारमा आफू प्रधानमन्त्री बन्नु पर्ने प्रस्ताव राखेका छन् । उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शनिबार विहान गरेको भेटघाटमा यस्तो प्रस्ताव गरेका हुन् ।



पछिल्ला केही दिन यता नेकपा माओवादी केन्द्रका नेताहरुले सरकारको नेतृत्व प्रचण्डले गर्नु पर्ने हेतुले नेकपा एमालेसँग पनि वार्ता गरिरहेका छन् ।

शनिबार विहान बालुवाटारमा भएको देउवासँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले केही दिन अघि मात्र कास्की पुगेर अबको सरकारको नेतृत्व आफूले गर्ने बताएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्रीमा आफैं दोहोरिन चाहेका छन् ।



‘४५ मिनेट लामो कुराकानी भएको थियो,’ देउवानिकट एक नेताले फरकधारलाई भने, ‘त्यो भेटमा प्रचण्डले आफूलाई पहिले प्रधानमन्त्री बनाउन औपचारिक रुपमा नै देउवासँग प्रस्ताव राख्नु भएको छ ।’



तर, प्रचण्डको यस्तो प्रस्तावमा देउवाले कुनै जवाफ दिएका छैनन् । उनले आफूले यो विषयमा पार्टी र गठबन्धनका नेताहरुसँग छलफल गर्ने बताएका छन् । ती नेताले देउवाले यस्तो बताए पनि आफूहरुले तत्काल प्रधानमन्त्रीका रुपमा देउवाको विकल्पमा अरु कसैलाई नदेखेको र प्रधानमन्त्री अरु कोही बन्ने विषयमा छलफल नहुने बताएका छन् ।

पछिल्ला केही दिन यता प्रचण्डले पार्टीमा पनि यस विषयमा छलफललाई बढाएका छन् । उनले शनिबार विहान मात्र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । त्यसपछि उनी देउवा भएको ठाउँमा यही विषय लिएर पुगेका थिए ।

पार्टीका नेताहरुसँग पछिल्लो छलफलपछि प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेर भए पनि प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन् । उनले केही दिनअघि सरकार गठनमा सहकार्य हुनसक्ने भन्दै आफ्नो सन्देश लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका महासचिव देव गुरुङलाई समेत पठाएका थिए । बालकोट पुगेर गुरुङले ओलीसँग २ घन्टा लामो छलफल गरेका थिए ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्नका लागि पछिल्लो समय स्वतन्त्र र अन्य दलका नेताहरुसँगको छलफल र भेटघाट पनि बढाएका छन् ।

  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १४:५१:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया