मधेस प्रदेशमा २६ राजनीतिक दलका ७८९ जना उम्मेदवारको धरौटी जफत

मधेस प्रदेशमा २६ राजनीतिक दलका ७८९ जना उम्मेदवारको धरौटी जफत भएको छ । 

निर्वाचन आयोगले शनिबार प्रदेशसभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेस गरेपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराले बताए ।
 
उनले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने दलमध्ये मधेस प्रदेशमा २६ वटा राजनीतिक दलको धरौटी जफत भएको जानकारी दिए ।
 
यस प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ७२४, महिला उम्मेदवार ६४ र अन्य उम्मेदवार १ गरी कूल ७८९ जनाको धरौटी जफत भएको हो । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ९ मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । 

सो व्यवस्थाअनुसार यस प्रदेशमा १० वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार मधेस प्रदेशको प्रदेशसभातर्फ १०७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ६७ जना (६२ दशमलव ६१ प्रतिशत) र महिला ४० जना (३७ दशमलव ३९ प्रतिशत) निर्वाचित भएका हुन् ।



मधेस प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । 

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ९३२, महिला ७४ र अन्य १ गरी कूल १ हजार ७ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ८६३ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।



प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यस प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४, पुरुष १८ लाख २७ हजार ८५४ र अन्य ७० गरी कूल ३३ लाख ८६ हजार ६२८ मतदाता कायम रहेका थिए । 

यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र रहेका थिए । निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २२ लाख २५ हजार ७४६ (६५ दशमलव ७२ प्रतिशत) मतदान भएको थियो जसमध्ये २१ लाख ४० हजार २३ (९६ दशमलव १५ प्रतिशत) मत सदर भएको थियो भने ८५ हजार ७२३ (३ दशमलव ८५) प्रतिशत मत बदर भएको थियो ।
 
त्यस्तै, समानुपातिक निर्वाचनमा २२ लाख ३० हजार ७०१ (६५ दशमलव ८७ प्रतिशत) मतदान भएको आयोगले जनाएको छ । जसमध्ये २० लाख ८६ हजार २९८ (९३ दशमलव ५३ प्रतिशत) मत सदर भएको थियो भने १ लाख ४४ हजार ४०३ (६ दशमलव ४७ प्रतिशत) मत बदर भएको थियो ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट शनिबार मधेस प्रदेशसभा सदस्य निर्वाचन, ०७९ को परिणमसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको हो । निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा गत मंसिर २८ गते प्रकाशन गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन मंसिर २९ गते राष्ट्रपतिसमक्ष पेस गरिसकेको छ ।

  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १५:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया