प्रदेश सरकार गठनको ढोका खुल्यो

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेशसभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेशसभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएकी हुन् ।

गत मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनको मतपरिणाम शनिबार एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ । 

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ ।

निर्वाचन आयोगले शनिबार प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सम्बन्धित प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचनको परिणाबारेको प्रतिवेदन प्रस्तुत गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग–अलगरूपमा प्रतिवेदन बुझाएका हुन् ।

पहिलो बैठक आह्वान गरेपछि संविधानबमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । 



प्रदेश सांसदहरु मध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्नेछ । संवैधानिक व्यवस्थाअनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ ।

प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।
  
एक सय ९ जना उम्मेदवारको जमानत जफत



सुदूरपश्चिममा प्रदेशसभातर्फ उम्मेदवारी दिएका एक सय ९ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउँदै सो जानकारी दिएको हो । 

कुल सदर मतको १० प्रतिशत मत नपाएपछि विभिन्न साना पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो । प्रदेशसभाका उम्मेदवारले उम्मेदवारी दर्ताको क्रममा पाँच हजारका दरले धरौटी राखेका थिए । सदर मतको १० प्रतिशत मत पुर्याउन नसकेका उम्मेदवारका धरौटी जफत भएको  निर्वाचन आयोगले जनाएको छ  ।

आयोगकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार प्रदेशमा २८ वटा राजनीतिक दलको धरौटी जफत भएको हो । ९९ जना पुरुष र १० जना महिला गरी एक सय ९ उम्मेदवारको धरौटी जफत भएको हो ।

  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १९:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया