तेस्रोपटक विश्व विजेता बन्ने दाउमा अर्जेन्टिना र फ्रान्स, यस्तो छ हेड टु हेड

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिनाले फ्रान्सको सामना गर्दैछ । यी दुई टिमबीचको उपाधि भिडन्त राति ८ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । 

अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन् । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो । त्यसअघि उसले १९९८ को विश्वकप ट्रफी हात पार्यो । त्यस्तै, तेस्रोपटक नै विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा ट्रफी आफ्नो नाममा गरेको थियो ।  

त्यसयता ऊ दुईपटक फाइनल र तीनपटक क्वार्टरफाइनलसम्म पुग्यो । तर, अर्जेन्टिना उपाधि जित्न भने चुक्यो । यसपटक उसले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई २–० ले हराएका थिए ।  

जारी विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित नतिजा बेहोर्‍यो । त्यसका बाबजुद अर्जेन्टिनाले उत्कृष्ट कमब्याक गर्दै फाइनलमा स्थान बनायो ।  

उसले समूह चरणको दोस्रो खेलमा पोल्याण्ड र तेस्रो खेलमा मेक्सिकोलाई समान २–० गोल अन्तरले हरायो । अर्जेन्टिना समूह विजेताको रूपमा अन्तिम १६ प्रवेश गरेको थियो । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले अन्तिम ८ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो ।

त्यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदै उत्कृष्ट सुरुवात गर्‍यो । दोस्रो खेलमा डेनमार्कलाई हराएको फ्रान्सले समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासँग १–० को अप्रत्यासित हारको सामना गर्न पुग्यो ।



समूह विजेताको रूपमा नकआउट चरण पुगेको फ्रान्सले अन्तिम १६ मा पोल्याण्ड र क्वार्टरफाइनलमा इंल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलको यात्रा तय गर्न सफल भयो ।  

हेड टु हेड  



अहिलेसम्म विश्वकपमा अर्जेन्टिना र फ्रान्सले तीन खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा अर्जेन्टिनाले दुई र फ्रान्सले एक खेलमा जित निकालेका छन् । यी दुई टिमले पहिलो विश्वकप (१९३०) मा प्रतिस्पर्धा गरेका थिए । जसमा अर्जेन्टिना १–० ले विजयी भयो । 

त्यसपछि अर्जेन्टिना र फ्रान्सले सन् १९७८ को विश्वकपमा खेले । जसमा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हराएको थियो । अर्जेन्टिना र फ्रान्सले विश्वकपमा अन्तिमपटक २०१८ मा एकअर्काविरुद्ध खेलेका थिए । सो खेलमा फ्रान्ससँग अर्जेन्टिना ४–३ गोलले पराजित भयो । 

समग्र नतिजा हेर्दा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाले १२ खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा अर्जेन्टिनाले ६ र फ्रान्सले तीन खेलमा जित हात पारेका छन् । यी दुई टोलीले अहिलेसम्म तीन खेल भने बराबरी खेलेका छन् । 

हालसम्म अर्जेन्टिना ६ पटक विश्वकप फाइनलमा पुगेको छ । जसमा उसले दुईपटक उपाधि जित्न सफल भयो । तीनपटक फाइनल पुग्दा फ्रान्सले दुईपटक उपाधि जितेको छ । उत्कृष्ट लयमा रहेका यी दुई टिमबीचको उपाधि भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसपटक उपाधि विजेता ४२ मिलियन अमेरिकी डलर अर्थात् करिब ५ अर्ब ४५ करोड रुपैयाँ पुरस्कार पाउनेछ । यो रकम सन् २१औँ संस्करणभन्दा ४ मिलियन अमेरिकी डलरले बढी हो । त्यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । 

  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ७:२४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया