भारतविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाले एक खेल अगावै जित्यो

घरेलु टोली भारतविरुद्धको महिला टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलिया ७ रनले विजयी भएको छ । योसँगै उसले एक खेल अगावै सिरिज जितेको हो । 

अस्ट्रेलिया पहिलोमा ९ विकेट र तेस्रो खेलमा २४ रनले विजयी भएको थियो । चौथो खेलमा पराजित हुँदै भारतले भने सिरिज जोगाउन सकेन । 

गएराति सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान हरमनप्रीत कौरले ४६, विकेटकिपर ऋचा घोषले अविजित ४०, देविका वैद्यले ३२, शफाली वर्माले २०, स्मृति मान्धनाले १६ र दिप्ती शर्मा अविजित १२ रन बनाए । 

अस्ट्रेलियाका लागि अलाना किंग र एश्ले गार्डनरले सर्वाधिक दुई/दुई विकेट लिए । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका लागि अलराउन्डर एलिस पेरीले अर्धशतकीय पारी खेलिन् ।

४२ बलको सामना गरेकी उनले सात चौका र चार छक्कासहित अविजित ७२ रन बनाइन् । पेरीले अघिल्लो खेलमा पनि अर्धशतकीय पारी खेलेकी थिइन् । त्यस्तै, एश्ले गार्डनरले ४२ र ग्रेस ह्यारिसले अविजित २७ रन जोडे । कप्तान एलिसा हेली ३० रनमा रिटायर्ड हर्ट भइन् । भारतका लागि दिप्ती शर्माले दुई र राधा यादवले एक विकेट लिए ।



यो जितसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलियाले ३–१ को अग्रता लिएको छ । भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल मंगलबार हुनेछ ।  
 



  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ८:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया