बंगलादेशविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली भारत १८८ रनले विजयी भएको छ । योसँगै उसले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
एकदिवसीय सिरिज जितेको बंगलादेशले टेस्टमा भने हारबाट सुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा भारतले दिएको ५१३ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रो पारीमा ३२४ रन मात्र बनाउन सक्यो ।
उसका लागि जाकिर हसनले २२४ बलमा १३ चौका र एक छक्कासहित १०० रन बनाए । उनको यो डेब्यू खेल थियो । त्यस्तै, शाकिवअल हसनले १०८ बलमा ६ चौका र ६ छक्कासहित ८४ रनको पारी खेले । नजमुल हुसेन शान्तो ६७, मुस्फिकुर रहिम २३, लिटन दास १९ र मेहदी हसन मिराज १३ रनमा आउट भए ।
भारतका लागि अक्षर पटेलले चार, कुलदीप यादवले तीन, रविचन्द्रन आश्विन, मोहम्मद सिराज र उमेश यादवले एक/एक विकेट लिए । पहिलो पारीमा बंगलादेश १५० रनमै अलआउट भएको थियो ।
उसका लागि सो पारीमा मुस्फिकुर रहिमले २८, मेहदी हसन मिराजले २५, लिटन दासले २४, जाकिर हसनले २० र नुरल हसनले १६ रन जोडे । भारतका लागि कुलदीप यादवले पाँच, मोहम्मद सिराजले तीन, अक्षर पटेल र उमेश यादवले एक/एक विकेट लिए ।
त्यसअघि चट्टोग्राम क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले पहिलो पारीमा १३५.५ ओभरमा ४ सय ४ रनमा अलआउट भयो । उसका लागि चेतेश्वर पुजाराले २ सय ३ बल खेल्दै ११ चौकाको सहयोगमा ९०, श्रेयस अय्यरले १ सय ९२ बलको सामना गर्दै १० चौकाको सहयोगमा ८६ र अलराण्डर रविचन्द्रन आश्विनले १ सय ३ बल खेलेर दुई चौका र दुई छक्का सहित ५८ रन बनाए ।
त्यस्तै, ऋषभ पन्तले ४६, कुलदीप यादवले ४०, कप्तान केएल राहुलले २२, शुभमन गीलले २०, अक्षर पटेलले १४ र उमेश यादवले नटआउट १४ रनको योगदान दिए । बंगलादेशका लागि ताइजुल इस्लाम, मेहदी हसन मिराज चार/चार, इबादोत हुसेन र खालिद अहमदले एक/एक विकेट लिए ।
भारतले दोस्रो पारी २५८/२ को अवस्थामा समाप्तिको घोषणा गर्यो । उसका लागि शुभमन गिल र चेतेश्वर पुजाराले शतक बनाए । १५२ बलमा १० चौका र तीन छक्कासहित ११० रन बनाए । टेस्टमा उनको यो पहिलो शतक हो । त्यस्तै, पुजाराले १३० बलमा १३ चौकाको मद्दतमा अविजित १०२ रनको पारी खेले । टेस्टमा उनको यो १८ औं शतक हो ।
कप्तान केएल राहुल २३ रनमा आउट हुँदा विराट कोहली १९ रनमा अविजित रहे । बंगलादेशका लागि मेहदी हसन मिराज र खालिद अहमदले एक/एक विकेट लिए । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बिहीबारदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।