उत्तर कोरियाले गर्‍यो पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्योङयाङले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेको पुष्टि गर्नुभएको हो । 

उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११ः१३ देखि अपराह्न १२ः०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।’

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाइमा पुगेको थियो । ‘यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिलकुलै अस्वीकार्य कार्य हो,’ वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने ।

उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’ को परीक्षण गरेको केही दिनपछि आइतबारको प्रक्षेपण भएको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन् । 



आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) को शस्त्रागार निर्माण गरेको छ ।



  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १३:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया