प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगे । भेटमा देउवासँग प्रचण्डले अब बन्ने सरकारमा आफू प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव राखे ।
प्रचण्डको प्रस्तावबारे देउवाले आफूले यो विषयमा पार्टी र गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताए । यसअघिदेखि नै प्रचण्डले अबको सरकारको नेतृत्व आफूले गर्ने बताउँदै आएका थिए ।
उनले केही दिनअघि मात्र कास्की पुगेर आफूले देशको नेतृत्व गर्ने बताएका थिए । पछिल्ला केही दिनयता नेकपा माओवादी केन्द्रका नेताहरूले सरकारको नेतृत्व प्रचण्डले गर्नुपर्ने हेतुले नेकपा एमालेसँग पनि वार्ता गरिरहेका छन् ।
४ मंसिरमा सम्पन्न आम निर्वाचनपछि समानुपातिकसहित गरेर कांग्रेस ८९ सांसदसहित पहिलो दल बनेको छ । त्यसका सभापति देउवा पुनः प्रधानमन्त्रीमा आफैं दोहरिन चाहेका छन् । तर, सोमबार चितवन पुगेर प्रचण्डले भने फरक संकेत गरेका छन् ।
उनले १० पुसभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले चितवनमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार बनाउनका लागि एक साताको समय दिँदै सूचना जारी गरेकी थिइन् ।
प्रचण्डले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताएका हुन् । अहिलेको सत्ता गठबन्धनको नै सरकार बन्ने पनि उनले संकेत गरेका छन् । यसअघि आफूले देशको नेतृत्व गर्ने बताउँदै आएका प्रचण्डले आज भने गठबन्धनमा छलफल गरेर प्रधानमन्त्री चयन हुने बताएका छन् ।
अहिलेसम्म गठबन्धनमा नयाँ प्रधानमन्त्री को बन्ने भन्ने चर्चा चले पनि निर्णय नभएको उनले बताएका छन् । यो निर्णय सजिलै हुने उनको तर्क छ । प्रधानमन्त्री जो बने पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको पनि उनले दाबी गरेका छन् । उनले अहिलेसम्म आफूले गठबन्धनमा औपचारिक रुपमा दाबी गरिनसकेको पनि बताएका छन् ।
‘अहिलेसम्म गठबन्धनमा मैले आधिकारिकरूपमा दाबी गरिसकेको छैन,’ उनले भने । प्रचण्डले प्रधानमन्त्रीका लागि आफूले सबै कुरा दाउमा नराख्ने बताएका छन् ।
दलहरूबीच प्रधानमन्त्रीको लागि रस्साकस्सी चलिरहेको बेला प्रचण्डले गठबन्धनकै नेतृत्वमा केही दिनमै सरकार बन्ने र सजिलै त्यसको निर्णय हुने उनको तर्कले देउवालाई समर्थन गर्न लागेको धेरैको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।