उदयपुरमा बोलेरो दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका–१० पालसिंहमा आइतबार भएको बोलेरो दुर्घटनामा ताप्ली गाउँपालिका–१ बस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् ।

गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । 

ताप्ली गाउँपालिकाको रूपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाही लालबन्दीका ३० वर्षीय फणिन्द्र श्रेष्ठ घाइते भएका छन् । त्यसैगरी श्रेष्ठ परिवारकै भावना श्रेष्ठ, भवानी श्रेष्ठ र दुई वर्षीय भूमिका श्रेष्ठ घाइते भएका छन् । 

फणिन्द्रसहित श्रेष्ठ परिवारका चार घाइते भएका हुन् । श्रेष्ठ परिवार ताप्ली गाउँपालिका–२ रामपुर झिल्के ससुरालीबाट फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । त्यसैगरी ताप्ली–५ की २३ वर्षीय सुमित्रा गिरी र  वडा नम्बर ४ का झपडबहादुर विश्वकर्मा घाइते भएका छन् । 

घाइतेको कटारी अस्पतालमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी नवीनकुमार बस्नेतले बताए । घाइतेमध्ये फणिन्द्र, भूमिका र झपडबहादुरलाई भने थप उपचारका लागि अन्यत्र रेफर गरी पठाएको पनि उनले जानकारी दिए । 

बोलेरो चालक ताप्ली–५ खानीडाँडाका ३२ वर्षीय ईश्वर नारायण श्रेष्ठलाई प्रहरी चौकी वेतेनीले नियन्त्रणमा लिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय कटारीबाट २४ किलोमिटर उत्तरपूर्वमा पर्दछ ।  





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ६:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया