नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले ऐतिहासिक निर्णय गर्न देउवालाइ आग्रह गरेका हुन् ।
उनले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसमा खुशी र उत्साह हुने भन्दै उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए ।
संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको भन्दै महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ । महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।
सभापति देउवकाे प्रस्तावकमा रामचन्द्र पाैडेल र समर्थकमा पूर्णबहादुर खड्का छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।