१४ महिनाको कार्यकाल सकेर धनुषाबाट बिदा हुँदै एसपी रजौरे

१४ महिना अगाडि धनुषा प्रहरीको कमाण्ड सम्हालेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे धनुषाबाट बिदा भएका छन् । रजौरे भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै धनुषाबासीको मन जित्न सफल भएका थिए । 

प्रहरी प्रधान कार्यालले सोमबार गरेको काजसरुवाको सूचीमा परेका रजौरेलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले बिदा गर्न लागेको हो । एसपी रजौरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले रजौरेको ठाउँमा एसपी विश्वराज खड्कालाई खटाएको हो ।

नेपाल प्रहरीको ११२ टोलीका प्रहरी अधिकृत हुन् प्रहरी उपरीक्षक (एसपी) रजौरे । उनी अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । धनुषाको प्रहरी प्रमुखको १४ महिने कार्यकालमा उनले देखाएका कामको परिणामले यसको पुष्टि गर्छ । यसबाहेक उनले जिम्मेवारी सम्हालेका सबै युनिटमा प्रभावकारी काम गरेको विवरण प्रहरी मुख्यालयमा नै सुरक्षित छ ।

धनुषाका सन्दर्भमा मात्र उनले झण्डै १४ महिनामा ११ करोड ५ लाख बढी रकम राज्यको ढुकुटीमा भराउने काम गरेका छन् । यसबाहेकका अपराधमा संलग्नमाथिका कारबाही पनि छन् । 

एसपी रजौरे नेतृत्वको टिमले विभिन्न अपराधमा संलग्न ६२ जनालाई पक्राउ गरेको छ । भन्सार चोरी पैठारीमा संलग्न ५१ नेपाली र ११ भारतीय गरी ६२ जनालाई पक्राउ गरी ११ करोड ५ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा उनले १८३ जना फरार प्रतिवादीलाई पक्राउ गरी ३८ लाख ३१ हजार जरिवाना असुल गराएका छन् । 
 
यसै अवधिमा हतियारसहित १२ जनालाई पक्राउ गरिएको छ भने चोरीमा संलग्न ३४८ जनालाई समातिएको छ । एसपी रजौरेले धनुषामा आफ्नो कार्यकालको अवधिमा १७८ किलो २०५ ग्राम गाँजा र ४ हजार ५७६ पिस नाइट्राभेट ट्याब्लेट पक्राउ गर्नुका साथै लागूऔषधको मुद्दामा दुई भारतियसहित १०१ जनालाई पक्राउ गरेका छन् । 



एसपी रजौरेले भारतीय खुला सीमा नाकाबाट हुन सक्ने सीमावर्ती अपराध नियन्त्रणका लागि भारतीय समकक्षी मधुवनी जिल्लाका प्रहरी प्रमुखलगायतसँग तीनपटक प्रत्यक्ष बैठक गरी प्रभावकारी रुपमा दुईपक्षीय सुरक्षा रणनीति लागू गरेका छन् । 

०७८ कार्तिकदेखि हालसम्म विभिन्न स्थानहरूमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ९८० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्नुका साथै नदीजन्य पदार्थ उत्खनन् हुन सक्ने स्थानहरुमा विशेष निगरानी राख्न प्रहरी परिचालनको व्यवस्था मिलाई जिल्ला प्रहरी कार्यालय मातहतका इकाइबाट ५१ बटा सवारी साधन नियन्त्रणमा लिई ७ लाख ६१ हजार रुपैयाँ जरिवाना समेत तिराएको देखिन्छ । 



एसपी रजौरेको पालामा जिल्ला प्रहरी कार्यालय धनुषामा घरेलु हिंसाका ९४१ उजुरी परेकोमा ६१७ वटालाई आपसी सहमति गराई घर फिर्ता पठाइएको छ भने २८६ मुद्दामाथि अझै काम जारी रहेको छ । त्यस्तै, सामाजिक हिंसाका ६६० उजुरी परेकोमा ४४८ वटालाई सहमति गराइएको छ । रजौरेको पालामा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरि कूल ४५८ जना हराएकोमा २२६ जनालाई खोजी गरि घरपरिवारको जिम्मा लगाइएको छ । 

आफ्नो १४ महिनाको कार्यकाल अवधिमा धनुषा प्रहरीभित्र पनि व्यापक सुधार ल्याएका एसपी रजौरेले हरेक महिना प्रहरी कर्मचारीसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेका थिए भने उत्कृष्ट प्रहरी कर्मचारीलाई मासिक रुपमा पुरस्कृतसमेत गरेका थिए ।

  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १८:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया